काठमाडौँ मेट्रो रेलको डिपिआरका लागि अन्तर्राष्ट्रिय आशयपत्र माग

काठमाडौँ । काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउने उद्देश्यसहित प्रस्तावित मेट्रो रेल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनीसँग आशयपत्र माग गरिएको छ।
रेल विभागले नारायणगोपाल चोक–सातदोबाटो–रत्नपार्क खण्डमा मेट्रो रेल सञ्चालन गर्ने योजनाका लागि अन्तर्राष्ट्रिय आशयपत्र आह्वान गरेको हो। विभागका महानिर्देशक हरिकुमार पोखरेलका अनुसार २७.५ किलोमिटर लामो उक्त खण्डको डिपिआर तयार गर्न इच्छुक अन्तर्राष्ट्रिय कम्पनीले आगामी जेठ ३२ गते अर्थात् १५ जुन २०२६ सम्म आशयपत्र पेस गर्नुपर्नेछ।
आवेदन नेपाल सरकारको ई–जिपी प्रणालीमार्फत अनलाइन रूपमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ। विभागका अनुसार अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनीले नेपाली कम्पनीसँग संयुक्त रूपमा आशयपत्र पेस गर्नुपर्नेछ।
आशयपत्र पेस गर्ने कम्पनीहरूको पहिलो चरणमा प्राविधिक प्रस्ताव मूल्याङ्कन गरिनेछ। प्राविधिक मूल्याङ्कनमा सफल भएका कम्पनीहरूको मात्र आर्थिक प्रस्ताव मूल्याङ्कन गरिने र त्यसपछि परामर्शदाता छनोट गरिने विभागले जनाएको छ।
परामर्शदाता छनोटका लागि योग्यता, अनुभव र क्षमताका आधारमा अंक निर्धारण गरिएको छ। योग्यताका लागि ५० अंक, अनुभवका लागि ४० अंक र क्षमताका लागि १० अंक तोकिएको छ। सङ्क्षिप्त सूचीमा पर्न कम्तीमा ७० अंक प्राप्त गर्नुपर्नेछ।
यसअघि काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि डिपिआर तयार गर्न विसं २०७६ माघ ८ गते रेल विभाग, चीनको चाइना रेलवे सियुआन कम्पनी लिमिटेड र नेपालको सिइएमएटी कन्सल्ट्यान्टबीच सम्झौता भएको थियो। तर विभिन्न कारणले त्यसबेला पूर्ण डिपिआर तयार हुन नसकेपछि ठेक्का सम्झौता तोडिएको थियो।
महानिर्देशक पोखरेलले अब छनोट हुने परामर्शदाता कम्पनीले डिपिआर तयार गर्ने विश्वास व्यक्त गरेका छन्।
काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापन सुधार, सहरी सौन्दर्य र स्वच्छ सहर निर्माणको उद्देश्यसहित मेट्रो तथा मोनो रेल सञ्चालनको विषय करिब एक दशकदेखि चर्चामा छ। तर हालसम्म यस क्षेत्रमा देखिने गरी ठोस उपलब्धि हुन सकेको छैन।
सन् २०१२ मै कोरियन कम्पनी चुङसुङ इन्जिनियरिङले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालनको सम्भाव्यता अध्ययन गरेको थियो। उक्त अध्ययनले उपत्यकाको कुल ७७ किलोमिटर सडकखण्डमा मेट्रो रेल सञ्चालन गर्न सकिने देखाएको थियो। त्यसमध्ये ५२ किलोमिटर आकासे र २५ किलोमिटर भूमिगत मेट्रो रेल निर्माणको सम्भावना औँल्याइएको थियो।
अध्ययन प्रतिवेदनले सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक १२ किलोमिटर, कीर्तिपुर–कालीमाटी–नयाँ बानेश्वर–एयरपोर्ट ११ किलोमिटर र कोटेश्वर–चाबहिल–स्वयम्भू २९ किलोमिटर खण्डमा आकासे मेट्रो रेल सम्भाव्य देखाएको थियो। त्यस्तै, स्वयम्भू–डिल्लीबजार–बौद्ध १२ किलोमिटर र धोबीघाट–सिंहदरबार–नक्साल–गोङ्गबु १४ किलोमिटर खण्डमा भूमिगत मेट्रो रेल निर्माण गर्न सकिने सुझाव दिइएको थियो।
विभिन्न सार्वजनिक यातायात प्रणालीको क्षमतासँग तुलना गर्दा बसबाट प्रतिघण्टा प्रतिलेन करिब आठ हजार यात्रु यात्रा गर्न सक्छन्। केवल मेट्रोमा प्रतिघण्टा प्रतिलेन दुईदेखि तीन हजार यात्रु अटाउन सक्छन्। तर मेट्रो रेलबाट प्रतिघण्टा प्रतिलेन २५ हजारदेखि ५० हजार यात्रु बोक्न सकिने भएकाले उपत्यकाको दीर्घकालीन यातायात व्यवस्थापनका लागि मेट्रो रेललाई महत्वपूर्ण विकल्पका रूपमा हेरिएको छ।
डिपिआर तयार भएपछि काठमाडौँ उपत्यकामा मेट्रो रेल निर्माणको लागत, मार्ग, प्रविधि, संरचना, कार्यान्वयन मोडेल र सम्भावित समयसीमाबारे स्पष्ट आधार तयार हुने अपेक्षा गरिएको छ।





