बुद्धिमत्ता युगमा मिडियाको भूमिकाबारे छोङछिङमा सीएमजी फोरम

चीनको छोङछिङ शहरमा पाँचौँ चाइना मिडिया ग्रुप (सीएमजी) फोरम आयोजना गरिएको छ। चाइना मिडिया ग्रुप र छोङछिङ जन सरकारको संयुक्त आयोजनामा जुन १० तारिख फोरम सम्पन्न भएको हो।
“कायम र पुनःस्थापना : बुद्धिमत्ता युगमा मिडियाको कार्यभार” भन्ने मुख्य नारासहित आयोजित फोरममा विभिन्न देशका सरकारी निकाय, अन्तर्राष्ट्रिय संगठन, मिडिया संस्था, स्वदेशी तथा विदेशी थिङ्कट्याङ्क र अन्तरदेशीय व्यवसाय क्षेत्रका प्रतिनिधिहरू सहभागी भएका थिए।
फोरममा करिब ३०० प्रतिनिधिको सहभागिता रहेको जनाइएको छ। सहभागीहरूले कृत्रिम बुद्धिमत्ता र नयाँ प्रविधिले तीव्र रूपमा परिवर्तन गरिरहेको सञ्चार क्षेत्रको भूमिका, जिम्मेवारी र भावी दिशाबारे छलफल गरेका थिए।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै छोङछिङ शहर समितिका सचिव युआन च्याच्युनले चिनियाँ राष्ट्रपति सी चिनफिङले मिडिया संस्थाहरूको सिर्जनशीलता र विकासलाई उच्च महत्व दिएको बताए। उनले पहिलो सीएमजी फोरमका लागि राष्ट्रपति सीले पठाएको बधाई सन्देशले मिडियाको भावी विकासका लागि सही दिशा देखाएको उल्लेख गरे।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय प्रचार विभागका उपप्रमुख तथा चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाई स्योङले पनि फोरमलाई सम्बोधन गरे। उनका अनुसार चालु वर्ष चीनको १५औँ पञ्चवर्षीय योजनाको आरम्भ वर्ष हो।
शनले बुद्धिमत्ता युगमा मिडियाले आफ्नो जिम्मेवारी अझ प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताए। उनले मानव जातिको साझा भविष्य निर्माणमा योगदान पुर्याउन विश्वका मिडिया साझेदारहरूसँग हातेमालो गर्न सीएमजी इच्छुक रहेको उल्लेख गरे।
फोरममा संयुक्त राष्ट्रसंघका उपमहासचिव तथा संयुक्त राष्ट्रसंघ विश्वविद्यालयका प्रमुख मार्वालाले पनि सम्बोधन गरेका थिए।
फोरमले प्रविधि, कृत्रिम बुद्धिमत्ता, विश्वसनीय सूचना प्रवाह, अन्तर्राष्ट्रिय सञ्चार सहकार्य र मानव समाजको साझा हितमा मिडियाको भूमिकालाई केन्द्रमा राखेको थियो।
आयोजकका अनुसार बुद्धिमत्ता युगमा मिडियाले केवल सूचना सम्प्रेषण गर्ने माध्यमका रूपमा मात्र नभई संवाद, सहकार्य, नवप्रवर्तन र सभ्यताबीचको समझदारी विस्तार गर्ने सेतुका रूपमा काम गर्नुपर्ने आवश्यकता फोरमले उजागर गरेको छ।





