
चीनको राज्य परिषद्को थाइवान मामिला कार्यालयले थाइवान जलडमरूका दुवै किनारबीच शान्ति, विकास, आदानप्रदान र सहकार्य चाहने जनमतलाई दबाउन नसकिने बताएको छ।
जुन १० तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा थाइवानसम्बन्धी पछिल्लो जनमत सर्वेक्षणबारे सोधिएको प्रश्नको जवाफ दिँदै कार्यालयका प्रवक्ता चाङ हानले यस्तो धारणा राखेका हुन्।
पत्रकार सम्मेलनमा एक पत्रकारले थाइवानको “प्रजातन्त्र, सांस्कृतिक तथा शिक्षा प्रतिष्ठान”ले हालै गरेको सर्वेक्षणअनुसार ६० प्रतिशतभन्दा बढी थाइवानी जनताले मुख्यभूमि चीनसँग सक्रिय रूपमा शान्ति वार्ता गर्न समर्थन गरेको र करिब ७० प्रतिशतले दुई किनारबीचको सम्बन्ध सुधार गरी शान्ति कायम गर्नुपर्ने मत राखेको विषय उठाएका थिए।
प्रश्नमा थाइवान टापुको जनमतमा दुई किनारबीचको मुद्दा “एकीकरण वा स्वतन्त्रता”बाट “युद्ध वा शान्ति”को छनोटतर्फ सर्दै गएको र विशेषगरी युवापुस्ताको दृष्टिकोणमा परिवर्तन देखिएको उल्लेख गरिएको थियो।
जवाफमा प्रवक्ता चाङले थाइवान समाजमा शान्ति, विकास, आदानप्रदान र सहकार्यप्रतिको मुख्य जनमत स्पष्ट रहेको बताए। उनले उक्त सर्वेक्षणले जलडमरूका दुवै किनारका देशवासी चिनियाँ भएको र एउटै परिवारको सदस्य भएको तथ्य पुनः पुष्टि गरेको दाबी गरे।
उनका अनुसार दुवै किनारका नागरिकहरूले थाइवान जलडमरूमा शान्ति र स्थिरता कायम रहोस्, दुई किनारबीचको सम्बन्ध सुधार र विकास होस् तथा जनताको जीवन अझ राम्रो बनोस् भन्ने साझा अपेक्षा राखेका छन्।
चाङले मातृभूमि र राष्ट्रको भविष्य युवापुस्तासँग जोडिएको बताए। उनका अनुसार धेरैभन्दा धेरै थाइवानका नागरिक, विशेषगरी युवापुस्ताले थाइवानको विकास, थाइवानका जनताको हित, दुई किनारबीचको शान्तिपूर्ण सम्बन्ध, मातृभूमिको एकीकरण र चिनियाँ राष्ट्रको पुनरुत्थानबीचको सम्बन्ध बुझ्दै गएका छन्।
उनले चीनले दुई किनारका युवाहरूबीच बारम्बार आवतजावत, आपसी समझदारी विस्तार र एकताबद्ध सहकार्यलाई स्वागत तथा समर्थन गर्ने बताए।
प्रवक्ता चाङले दुई किनारबीचको सम्बन्धको भविष्य चिनियाँहरूले आफ्नै हातमा दृढतापूर्वक सम्हाल्नुपर्नेमा जोड दिए।
उनको भनाइमा थाइवान जलडमरूमा शान्ति र स्थिरता कायम राख्ने, संवाद र सहकार्य विस्तार गर्ने तथा साझा विकासको वातावरण बनाउने चाहना दुवै किनारका जनताको वास्तविक अपेक्षा हो।





