४ असार २०८३, बिहीबार

युरेसियामा समान सुरक्षाको नयाँ संरचना आवश्यक : लाभरोभ

रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युरेसियामा समान र अविभाज्य सुरक्षामा आधारित नयाँ महादेशीय संरचना निर्माण आवश्यक रहेको बताएका छन्। कजानमा जुन १० मा आयोजित सामूहिक सुरक्षा सन्धि संगठन (सीएसटीओ) विदेशमन्त्री परिषद्को विस्तारित बैठकमा बोल्दै उनले बहुध्रुवीय विश्व व्यवस्थाको निर्माणमा युरेसियाको भूमिका निर्णायक बन्दै गएको बताए।

लाभरोभका अनुसार युरेसियामै नयाँ वैश्विक केन्द्रहरू उदाउँदै र सुदृढ हुँदै गएका छन्। ती केन्द्रहरू तथा तिनका एकीकरणात्मक संरचनाहरूले न्यायपूर्ण बहुध्रुवीय विश्व व्यवस्थाको निर्माण प्रक्रियामा प्रत्यक्ष प्रभाव पारिरहेका छन्।

उनले बहुकेन्द्रीय विश्व संरचना संयुक्त राष्ट्रसंघीय बडापत्रका सिद्धान्तहरूको पूर्णता र आपसी सम्बन्धका आधारमा निर्माण हुनुपर्ने बताए। आधुनिक विश्वको सांस्कृतिक र सभ्यतागत विविधतालाई सम्मान गर्दै राष्ट्रहरूले आफ्नो विकासको बाटो र मोडल आफैँ निर्धारण गर्ने अधिकार पाउनुपर्नेमा उनले जोड दिए।

लाभरोभले यिनै मूल्यहरू सीएसटीओभित्रका मित्रवत् र सहयोगात्मक सम्बन्धको आधार रहेको बताए। उनका अनुसार अन्तर्राष्ट्रिय कानुनका आधारभूत मान्यताको उपेक्षा, अरूको मूल्यमा आफ्ना समस्या समाधान गर्ने प्रवृत्ति र विशेषगरी बल प्रयोगको बाटोले शान्ति होइन, अन्तर्राष्ट्रिय जीवनमा अराजकता, पुराना द्वन्द्वको चर्कावट र नयाँ संकटको जन्म गराउँछ।

उनले पश्चिमा मुलुकहरू ऐतिहासिक जडताबाट प्रेरित भएर विनाशकारी बाटोमा अघि बढिरहेको आरोप लगाए। लाभरोभका अनुसार युक्रेनलाई नेटोमा तान्ने सक्रिय प्रयास र कीभको वर्तमान शासनलाई रूसविरुद्ध सैन्य औजारका रूपमा प्रयोग गर्ने नीति त्यसैको अभिव्यक्ति हो।

लाभरोभले युरोपको सुरक्षा प्रणाली अन्ततः पश्चिमा मुलुकहरूकै गतिविधिका कारण नष्ट भएको दाबी गरे। उनका अनुसार हतियार नियन्त्रणसम्बन्धी सबै प्रमुख सन्धिहरू समाप्त भइसकेका छन्। यस्तो अवस्थामा कुनै समय “साझा युरेसियाली घर” भनिएको अवधारणालाई भू–राजनीतिक टकरावको मैदान बन्न नदिनु अत्यन्त आवश्यक रहेको उनले बताए।

उनले तनावका केन्द्रहरू ठूलो सैन्य द्वन्द्वमा रूपान्तरण हुनुअघि नै जोखिम न्यूनीकरण गर्नुपर्ने र युक्रेनजस्ता संकट फेरि दोहोरिन नदिनुपर्नेमा जोड दिए।

लाभरोभका अनुसार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२४ को गर्मीयाममा अघि सारेको युरेसियामा समान र अविभाज्य सुरक्षाको नयाँ महादेशीय संरचना निर्माण गर्ने पहल यिनै उद्देश्यसँग सम्बन्धित छ। उनले अन्य केही राजनीतिक व्यक्तित्वहरूले अघि सारेका विचारहरू पनि यही दिशातर्फ उन्मुख रहेको बताए।

बैठकका क्रममा बेलारुस–रूस पहलअन्तर्गत मिन्स्कले प्रस्ताव गरेको “२१औँ शताब्दीमा विविधता र बहुध्रुवीयतासम्बन्धी युरेसियाली चार्टर”बारे पनि विस्तृत छलफल भएको लाभरोभले जानकारी दिए।

उनले यस्तो सुरक्षा संरचना निर्माणको प्रक्रिया खुला रहनुपर्ने र द्विपक्षीय तथा बहुपक्षीय सुरक्षात्मक प्रत्याभूतिको संयोजनलाई समेट्नुपर्ने बताए। लाभरोभका अनुसार यसको उद्देश्य क्षेत्रबाहिरका शक्तिहरूको विनाशकारी सैन्य प्रभाव र उपस्थितिलाई क्रमशः तर स्थिर रूपमा घटाउँदै लैजानु हुनुपर्छ।

उनले सुरक्षा विषयमा कार्यरत विद्यमान युरेसियाली संरचनाहरूबीच संवाद बढाउनु आवश्यक रहेको बताए। लाभरोभका अनुसार सीएसटीओ पनि त्यस्ता प्रमुख संरचनामध्ये एक हो र यसले युरेसियाली सुरक्षाबारे समन्वय र सहकार्य विस्तारमा महत्वपूर्ण भूमिका खेल्न सक्छ।

लाभरोभको वक्तव्यले युरेसियालाई भावी विश्व व्यवस्थाको मुख्य भू–राजनीतिक केन्द्रका रूपमा प्रस्तुत गर्दै सुरक्षा, सार्वभौमिकता, बहुध्रुवीयता र क्षेत्रीय सहकार्यलाई रूसको कूटनीतिक प्राथमिकताका रूपमा अघि सारेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button