४ असार २०८३, बिहीबार

खुनमिङमा १०औँ चीन–दक्षिण एसिया एक्सपो सुरु

चीनको युन्नान प्रान्तीय राजधानी खुनमिङमा १०औँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु भएको छ।

दियान्ची अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्रमा आयोजना गरिएको एक्सपो आगामी मंगलबारसम्म सञ्चालन हुनेछ। करिब एक लाख ३० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको प्रदर्शनीस्थलमा विभिन्न देश र क्षेत्रका स्टल, उत्पादन तथा नवीन प्रविधि प्रदर्शनमा राखिएको छ।

यस वर्षको एक्सपोमा ६६ देश र क्षेत्रका प्रतिनिधि, व्यवसायी, लगानीकर्ता तथा पाहुनाको सहभागिता रहेको छ। दक्षिण एसियाका आठ देशका ५६० कम्पनी प्रदर्शनीमा सहभागी भएका छन् भने विश्वभरबाट एक हजार ३०० भन्दा बढी व्यावसायिक खरिदकर्ता उपस्थित भएका छन्।

आयोजकका अनुसार जर्मनी, ब्राजिल, इजिप्टलगायत ३६ देशका प्रतिनिधि पहिलोपटक एक्सपोमा सहभागी भएका छन्। साथै, फर्च्युन ग्लोबल ५०० सूचीमा रहेका तथा विभिन्न उद्योग क्षेत्रका ११२ अग्रणी कम्पनी र संस्थाको पनि सहभागिता रहेको छ।

प्रदर्शनीमा दक्षिण एसियाली देशका उत्पादन, प्रविधि, पर्यटन, संस्कृति र व्यापारिक सम्भावनालाई विशेष प्राथमिकता दिइएको छ। यससँगै अत्याधुनिक प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), रोबोटिक्स र नवप्रवर्तनसम्बन्धी सामग्री पनि प्रदर्शनीमा राखिएका छन्।

चीन–दक्षिण एसिया एक्सपो चीन र दक्षिण एसियाली मुलुकबीच व्यापार, लगानी, पूर्वाधार, प्रविधि तथा जनस्तरीय आदानप्रदान प्रवर्द्धन गर्ने महत्वपूर्ण मञ्चका रूपमा स्थापित हुँदै आएको छ। आयोजकहरूले यसपटकको प्रदर्शनीले करिब तीन अर्ब जनसंख्या रहेको चीन र दक्षिण एसियाली क्षेत्रबीच आर्थिक सहकार्यलाई थप विस्तार गर्ने अपेक्षा गरेका छन्।

उद्घाटन समारोहमा सयौँ स्वदेशी तथा विदेशी पाहुना, व्यवसायी र लगानीकर्ताको उपस्थिति थियो। नेपालको तर्फबाट राष्ट्रिय सभाकी उपाध्यक्ष लीलाकुमारी भण्डारीले समारोहलाई सम्बोधन गरेकी छन्। कार्यक्रममा नेपालका केही सञ्चारकर्मीहरूको पनि सहभागिता रहेको छ।

एक्सपोले क्षेत्रीय बजार, लगानी सम्भावना, प्रविधि हस्तान्तरण, सांस्कृतिक आदानप्रदान र दक्षिण एसिया–चीन सहकार्यलाई नयाँ गति दिने विश्वास गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button