प्रधानमन्त्रीले संसद र जनमतको अपमान गरे : महर

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री वालेन्द्र शाहले संसद र जनमतको अपमान गरिरहेको आरोप लगाएका छन्।
बिहीबारको प्रतिनिधिसभा बैठकमा सीमासम्बन्धी विषय उठाउँदै महरले प्रधानमन्त्रीले पटक–पटक नेपाली जनता, संसद् र जनमतको हुर्मत लिने काम गरेको बताएका हुन्।
“सम्माननीय प्रधानमन्त्रीले पटक–पटक नेपाली जनता, यो संसद् र जनमतको हुर्मत लिने तथा अपमान गर्ने काम गरिरहनुभएको छ,” महरले भने।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले आफूहरू नयाँ शक्ति भएको र काम गर्न आएको बताउँदै आए पनि पछिल्ला गतिविधिले त्यसमा विश्वास गर्ने अवस्था नरहेको टिप्पणी गरे।
“हामी नयाँ हौँ, केही परिवर्तन गर्न खोजिरहेका छौँ, कुरा होइन काम गर्न आएका हौँ भन्ने कुरा सुनिँदै आएको थियो। हामीलाई पनि विश्वास लागिरहेको थियो,” महरले भने, “तर पछिल्ला सरकार र प्रधानमन्त्रीका गतिविधिले अब त्यो कुरामा विश्वास गर्ने अवस्था बनेको छैन।”
महरले जेठ १७ गते प्रधानमन्त्री शाहले संसदमा दिएको सीमासम्बन्धी अभिव्यक्तिले आफूलाई गम्भीर बनाएको बताए। प्रधानमन्त्रीले भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतका धेरै ठाउँमा जमिन मिचेको भन्ने अभिव्यक्ति दिएको भन्दै उनले त्यसप्रति कडा आपत्ति जनाए।
“आज ठूलो भारी मन र दुःखका साथ म आफ्ना भनाइ राख्दैछु,” उनले भने, “जेठ १७ गते प्रधानमन्त्रीले नेपालको सीमानाबारे नेपालले पनि भारतको जमिन मिचेको छ भन्ने अभिव्यक्ति दिएपछि आम रूपमा दुई वटा प्रश्न उठेका छन्।”
महरका अनुसार जनताले पहिलो प्रश्नका रूपमा विश्वका कुनै पनि सरकार प्रमुखले आफ्नो देशले अर्को देशको जमिन मिचेको स्वीकार गरेको उदाहरण छ कि छैन भन्ने विषय उठाएका छन्। उनले यस्तो गम्भीर विषय संसदमा उठ्दा सांसदहरू के हेरेर बसे भन्ने प्रश्न पनि नागरिकबाट आएको बताए।
उनले भने, “अहिलेसम्म विश्वका कुनै पनि सरकार प्रमुखले नभनेको कुरा हाम्रो देशका प्रधानमन्त्रीले सदनमा कसरी भन्नुभयो? तपाईंहरू के हेरेर बस्नुभयो? त्यो कुराले तपाईंहरूलाई बिझायो कि बिझाएन भनेर जनताले हामीलाई प्रश्न गरिरहेका छन्।”
महरले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिमा ताली बजाउने सांसदहरूबारे पनि प्रश्न उठाए। उनले राष्ट्रहितविपरीत अभिव्यक्ति संसद्बाट आउँदा त्यसमा ताली बजाउनेहरू को हुन् भन्ने प्रश्न जनताले सोधिरहेको बताए।
“प्रधानमन्त्रीले त्यस्तो राष्ट्रघाती र देशद्रोही कुरा संसद्बाट बोलिरहँदा त्यस अभिव्यक्तिमा ताली पिट्ने सांसद को हुन्? उनीहरू यही सदनका सदस्य हुन् कि को हुन्?” महरले प्रश्न गरे।
सीमाजस्तो संवेदनशील राष्ट्रिय विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति अस्वीकार्य भएको महरको भनाइ थियो। उनले यस्ता विषयमा सरकार स्पष्ट, जिम्मेवार र प्रमाणसहित प्रस्तुत हुनुपर्ने धारणा राखे।
प्रधानमन्त्री शाहको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरूले संसद्मा लगातार प्रश्न उठाउँदै आएका छन्।





