परीक्षा हलमा भेटिएका मोबाइल र डेटा नष्ट नगर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले परीक्षा हलमा भेटिएका मोबाइल फोन र ती उपकरणमा रहेका डेटा तत्काल नष्ट नगर्न अन्तरिम आदेश जारी गरेको छ।
अधिवक्ता अनिलकुमार साहले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले उक्त आदेश जारी गरेको हो।
अदालतले निवेदकको मागबमोजिम आदेश किन जारी हुनु नपर्ने हो भन्ने आधार र कारणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
आदेशमा निवेदनको अन्तिम टुंगो नलागेसम्म जिल्ला प्रशासन कार्यालय सिराहाले २०८२ जेठ १३ गते जारी गरेको सूचनामा उल्लेख गरिएका परीक्षा हलभित्र फेला परेका मोबाइल फोन तथा त्यसमा रहेका डेटा जफत गरी नष्ट गर्ने कार्य नगर्न भनिएको छ।
अदालतले सुविधा र सन्तुलनको दृष्टिले तत्काल मोबाइल फोन तथा त्यसमा रहेका डेटा नष्ट गरिएमा अपूरणीय क्षति हुन सक्ने देखिएको उल्लेख गरेको छ।
सोही आधारमा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरिएको अदालतले जनाएको छ।
परीक्षा हलमा निषेधित सामग्री लैजाने विषयमा प्रशासनिक कारबाही आवश्यक भए पनि मोबाइल तथा व्यक्तिगत डेटा नष्ट गर्ने विषय नागरिकको सम्पत्ति, गोपनीयता र कानुनी प्रक्रियासँग जोडिने भएकाले अदालतको आदेशलाई महत्वपूर्ण मानिएको छ।





