२९ जेष्ठ २०८३, शुक्रबार

रौतहट सीमाबाट ९१ लाख बराबरको अवैध फर्सीको बिउ बरामद

रौतहट । प्रहरीले नेपाल–भारत सीमावर्ती क्षेत्रबाट करिब ९० लाख ९६ हजार रुपैयाँ बराबरको अवैध फर्सीको बिउ बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बुधबार दिउँसो करिब ११ः३० बजे बौधीमाई नगरपालिका–७, बडा बंकुल टोलस्थित नेपाल–भारत सीमा नजिक लुकाइछिपाइ राखिएको अवस्थामा ठूलो परिमाणमा फर्सीको बिउ बरामद गरिएको हो।

गोप्य सूचनाका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त क्षेत्रमा खानतलासी गरेको थियो। सो क्रममा त्रिपालले छोपेर राखिएका २३२ बोरा फर्सीको बिउ फेला परेको प्रहरीले जनाएको छ।

बरामद बिउको कुल तौल ११ हजार ६८० किलोग्राम रहेको छ। प्रतिवोरा २८ हजार रुपैयाँका दरले मूल्याङ्कन गर्दा यसको अनुमानित कुल मूल्य ९० लाख ९६ हजार रुपैयाँ पुगेको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद गरिएको फर्सीको बिउ नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएको छ।

बिउ नियन्त्रणमा लिने क्रममा केही स्थानीयले अवरोध गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। भीड नियन्त्रण गर्न प्रहरीले ६ राउन्ड अश्रुग्यास प्रहार गरेको जनाएको छ।

घटनामा तीन जना स्थानीय र तीन जना प्रहरी कर्मचारी गरी छ जना सामान्य घाइते भएका छन्।

सीमावर्ती क्षेत्रमा अवैध रूपमा भण्डारण गरिएको बिउ कसले र कुन प्रयोजनका लागि राखेको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button