अनियमितता प्रमाणित भए पद त्याग्छु : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूमाथि लागेका भ्रष्टाचार र अनियमिततासम्बन्धी आरोपहरूको प्रतिवाद गर्दै बदमासी प्रमाणित भए मन्त्री पद त्याग्ने बताएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले करका दरमार्फत निश्चित व्यापारीलाई लाभ पुर्याएको भन्ने आरोप निराधार रहेको दाबी गरे।
उनले आफूमाथि दुई अर्ब रुपैयाँ बराबरको अनियमितताको आशंका गरिएको भन्ने समाचार र आरोपको खण्डन गर्दै दुई अर्ब होइन, दुई रुपैयाँको बदमासी वा बेइमानी प्रमाणित भए पनि पद त्याग्न तयार रहेको बताए।
“मैले आज सार्वजनिक लेखा समितिमा पनि भनेँ, एक–दुईवटा खोस्टाहरूले दुई अर्बको आशंका भनेर लेखे,” उनले भने, “तर दुई अर्ब होइन, दुई रुपैयाँको बदमासी वा बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्यागिदिन्छु। सार्वजनिक जीवन नै त्याग्न पनि म तयार छु।”
अर्थमन्त्री वाग्लेले आफू सुशासनको कठोर प्रतिबद्धतासहित सार्वजनिक जिम्मेवारीमा आएको उल्लेख गर्दै जनताले सुशासनका लागि दिएको मतको अपमान नगर्ने बताए। सरकारमा आएको दुई महिनामै जनतालाई धोका दिने काम आफूबाट हुन नसक्ने उनको भनाइ थियो।
उनले आफूमाथि प्रश्न उठाउने सांसदहरूलाई पनि नैतिक उचाइ कायम राख्न चुनौती दिए। वाग्लेले प्रश्न उठाउनेहरूका विगतका काण्डबारे आफूहरू अनभिज्ञ नरहेको भन्दै ती विषय पनि सार्वजनिक हुन सक्ने चेतावनी दिए।
“यही नैतिक आँट र यही नैतिक उचाइ मप्रति औँलो ठड्याउने माननीयज्यूहरूलाई पनि प्राप्त होस्,” उनले भने, “तपाईंहरूका काण्डका बारेमा हामी अनभिज्ञ छैनौँ, ती पनि खुल्नेछन्।”
अर्थमन्त्री वाग्लेले सार्वजनिक लेखा समितिमा पनि आफूविरुद्ध आएका समाचार र आरोपहरूको खण्डन गरेको बताए। उनले कर नीतिसम्बन्धी निर्णयमा कुनै व्यापारी वा समूहलाई अनुचित लाभ पुर्याउने काम नभएको दाबी गरे।
प्रतिनिधिसभामा उनको अभिव्यक्ति करका दर, सुशासन, सार्वजनिक जवाफदेहिता र राजनीतिक आरोप–प्रत्यारोपसँग जोडिएको बहसका बीच आएको हो।





