रुसी साहित्यकार पुस्किनको २२७औँ जन्मजयन्ती काठमाडौँमा मनाइयो

काठमाडौँ । आधुनिक रुसी भाषा र साहित्यका संस्थापक मानिने अलेक्जेन्डर सेर्गेयेभिच पुस्किनको २२७औँ जन्मजयन्ती काठमाडौँस्थित रसियन हाउसमा मनाइएको छ।
जुन ९, २०२६ मा रसियन हाउसले रिभिएरा इन्टरनेशनल एकेडेमीसँगको सहकार्यमा पुस्किनको जन्मजयन्ती विशेष सांस्कृतिक तथा शैक्षिक कार्यक्रम आयोजना गरेको हो।
रुस र नेपालबीचको सांस्कृतिक तथा शैक्षिक आदानप्रदान कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा रिभिएरा इन्टरनेशनल एकेडेमीका कक्षा १० का विद्यार्थीहरूको सहभागिता थियो।





कार्यक्रमका क्रममा विद्यार्थीहरूले रसियन हाउसको अवलोकन गरेका थिए। उनीहरूले पुस्किनको मूर्ति अवलोकन गर्नुका साथै उनको जीवन, साहित्यिक योगदान र विश्व साहित्यमा उनले पुर्याएको प्रभावबारे जानकारी लिएका थिए।
विद्यार्थीहरूले रसियन हाउसको पुस्तकालय पनि अवलोकन गरे। सो अवसरमा उनीहरूलाई पुस्तकालयका गतिविधि, स्रोतसामग्री र शैक्षिक–सांस्कृतिक कार्यक्रमबारे जानकारी गराइएको थियो।
कार्यक्रमको मुख्य आकर्षण “अ जर्नी इन्टु द वर्ल्ड अफ हिज टेल्स” शीर्षकको तस्बिर प्रदर्शनी थियो। प्रदर्शनीमार्फत विद्यार्थीहरूलाई पुस्किनका चर्चित कृति र लोककथात्मक साहित्यसँग परिचित गराइएको थियो।







कार्यक्रममा “द लिडिङ रसियन लिङ्ग्विस्ट अफ द वर्ल्ड” नामक वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो। उक्त वृत्तचित्र रुसी भाषा र शिक्षाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएकी विदुषी ल्युडमिला अलेक्सेयेभ्ना भेर्बित्स्कायाप्रति समर्पित थियो। उनी सेन्ट पिटर्सबर्ग स्टेट युनिभर्सिटीकी पूर्व अध्यक्षसमेत थिइन्।
पुस्किनलाई आधुनिक रुसी साहित्य र भाषाका आधारशिला मानिन्छ। उनले विभिन्न विधामा महान् साहित्यिक कृतिहरू मात्र दिएनन्, आधुनिक रुसी भाषालाई विचार, भावना र सिर्जनाको सशक्त माध्यमका रूपमा स्थापित गरे। उनको भाषा सुधारपछि साहित्य आम जनताका लागि सहज, बोधगम्य र व्यापक रूपमा पहुँचयोग्य बनेको मानिन्छ।
पुस्किनले सिर्जना गरेको आधुनिक रुसी साहित्यिक भाषा आज पनि प्रयोगमा रहेको छ। यही कारण उनलाई रुसी साहित्य, भाषा र सांस्कृतिक चेतनाका प्रतीकका रूपमा सम्मान गरिन्छ।
कार्यक्रमले नेपाली विद्यार्थीहरूलाई रुसी साहित्य, संस्कृति र शैक्षिक उपलब्धिबारे नजिकबाट जान्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।
यस्ता सांस्कृतिक तथा शैक्षिक कार्यक्रमले रुस र नेपालबीचको आपसी समझदारी, साहित्यिक सम्बन्ध र शैक्षिक सहकार्यलाई थप बलियो बनाउने विश्वास गरिएको छ।





