चीन–मोन्टेनेग्रो सम्बन्धको २० वर्ष : युवागालामार्फत मित्रता र सहकार्यको सन्देश

चीन र मोन्टेनेग्रोबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०औँ वार्षिकोत्सवका अवसरमा मोन्टेनेग्रोको राजधानी पोड्गोरिकामा युवागाला आयोजना गरिएको छ। बिहीबार आयोजित कार्यक्रममा दुई देशबीच विगत दुई दशकमा पूर्वाधार विकास, व्यावहारिक सहकार्य र जनस्तरको आदानप्रदान विस्तार हुँदै गएको विषयमा जोड दिइएको थियो।
चीनियाँ दूतावासको आयोजनामा तथा मोन्टेनेग्रोको संस्कृति तथा सञ्चार मन्त्रालयको सहआयोजनामा सम्पन्न कार्यक्रममा करिब ४०० जना सरकारी अधिकारी, विद्यार्थी, सांस्कृतिक प्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी थिए।
कार्यक्रममा चीन र मोन्टेनेग्रोका युवाहरूले विविध सांस्कृतिक प्रस्तुति दिएका थिए। चिनियाँ परम्परागत कला, पश्चिमी सांगीतिक वाद्ययन्त्र र मोन्टेनेग्रोका लोकसंगीतलाई एउटै मञ्चमा प्रस्तुत गर्दै दुई देशबीचको सांस्कृतिक निकटता झल्काइएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मोन्टेनेग्रोका लागि चीनियाँ राजदूत छन सुफङले कला र संस्कृतिले दुई देशका जनताबीचको आत्मीयता अझ गहिरो बनाएको बताए। उनका अनुसार युवाहरू दुई देशबीचको मित्रतालाई आगामी पुस्तासम्म पुर्याउने महत्वपूर्ण सेतु हुन्।
उनले उक्त प्रस्तुति केवल कलाको भेटघाट मात्र नभई मनदेखि मनसम्मको संवाद भएको उल्लेख गर्दै चीन र मोन्टेनेग्रोबीचको सहकार्य निरन्तर सुदृढ हुने विश्वास व्यक्त गरे।
मोन्टेनेग्रोका संसद्का उपाध्यक्ष मिरसाद नुर्कोभिकले चीन–मोन्टेनेग्रो सम्बन्ध केवल औपचारिक राजनीतिक वक्तव्य र कूटनीतिक प्रोटोकलमा सीमित नरहेको बताए। उनका अनुसार दुई देशबीचको सहकार्यले मोन्टेनेग्रोका नागरिकका लागि प्रत्यक्ष महत्व राख्ने ठूला रणनीतिक परियोजनाहरूमा परिणाम दिएको छ।
विशेषगरी सडक तथा पूर्वाधार क्षेत्रमा भएको सहकार्यलाई उनले महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरे। उनले साँचो सम्बन्ध अन्तरराज्यीय सम्झौताबाट मात्र नभई जनता, विद्यार्थी, वैज्ञानिक, कलाकार र खेलाडीबीचको जीवन्त सम्पर्कबाट निर्माण हुने धारणा राखे।
मोन्टेनेग्रोको युरोपेली मामिला मन्त्रालयकी युरो–एसियाली सम्बन्धसम्बन्धी नीति विश्लेषक इभाना इभा सेकुलिचले विगत २० वर्षमा चीन–मोन्टेनेग्रो सहकार्यले व्यावहारिक परिणाम दिएको बताइन्। उनले तारा नदी पुलको पुनर्निर्माणलाई दुई देशबीचको सहकार्यको उदाहरणका रूपमा प्रस्तुत गरिन्।
उनका अनुसार चीन र मोन्टेनेग्रोबीचको सहकार्य अब पूर्वाधारमा मात्र सीमित नभई व्यापक आर्थिक क्षेत्रमा पनि विस्तार हुँदै गएको छ। उनले दुवै देशबीच आगामी दिनमा सहकार्यका सम्भावना निकै फराकिलो रहेको बताइन्।
कूटनीतिक सम्बन्धको २० वर्ष पूरा भएको अवसरमा आयोजित यो कार्यक्रमलाई चीन र मोन्टेनेग्रोबीचको मित्रता, सांस्कृतिक संवाद र व्यावहारिक सहकार्यलाई नयाँ चरणमा अघि बढाउने अवसरका रूपमा हेरिएको छ।





