चीन–दक्षिण एसिया सहकार्यलाई नयाँ चरणमा अघि बढाउने प्रतिबद्धता

चीनले दक्षिण एसियाली मुलुकहरूसँग विकास र पुनरुत्थानलाई तीव्र बनाउने उद्देश्यसहित सहकार्यको नयाँ अध्याय लेख्न निरन्तर हातेमालो गर्ने जनाएको छ।
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष ह वेईले बिहीबार दक्षिणपश्चिम चीनको युन्नान प्रान्तको राजधानी कुन्मिङमा आयोजित १०औँ चीन–दक्षिण एसिया प्रदर्शनीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन्।
उनका अनुसार पछिल्ला वर्षहरूमा चीन र दक्षिण एसियाली मुलुकहरूले खुलापन, सहकार्य र समावेशिताको भावना अघि बढाउँदै आएका छन्। यस क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभलाई दक्षिण एसियाली देशहरूको विकास रणनीतिसँग जोड्ने प्रयास भइरहेको र विभिन्न क्षेत्रमा व्यावहारिक सहकार्य थप गहिरिँदै गएको उनले बताए।
ह वेईले चीनले गत वर्ष १४औँ पञ्चवर्षीय योजना सफलतापूर्वक सम्पन्न गरेको उल्लेख गर्दै चीनको आर्थिक शक्ति, प्राविधिक क्षमता र समग्र राष्ट्रिय सामर्थ्य नयाँ स्तरमा पुगेको बताए। उनका अनुसार चिनियाँ आधुनिकीकरणले ठोस नयाँ प्रगति गर्दै विश्व विकासका लागि नयाँ अवसरहरू सिर्जना गरेको छ।
उनले प्रदर्शनीमा सहभागी सबै पक्षलाई यो मञ्चलाई थप सहकार्यका अवसर पहिचान गर्ने, व्यावहारिक उपलब्धि हासिल गर्ने र साझा भविष्यका लागि मिलेर काम गर्ने अवसरका रूपमा उपयोग गर्न आग्रह गरे।
प्रदर्शनीका क्रममा ह वेईले बंगलादेश, लाओस, नेपाललगायत विभिन्न देशका राजनीतिक व्यक्तित्वहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
“साझा विकासका लागि एकता र समन्वय” भन्ने मूल नाराका साथ आयोजित छ दिनसम्म चल्ने प्रदर्शनीले क्षेत्रीय व्यापार तथा औद्योगिक सहकार्य प्रवर्द्धनमा विशेष जोड दिएको छ। प्रदर्शनीमा ६८ देश, क्षेत्र र अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू सहभागी छन्।
यस वर्षको प्रदर्शनीमा दक्षिण एसियाली मुलुकका ५६० भन्दा बढी कम्पनीहरूले सहभागिता जनाएका छन्। कार्यक्रमलाई चीन र दक्षिण एसियाली मुलुकहरूबीच व्यापार, लगानी, औद्योगिक साझेदारी र जनस्तरको सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण क्षेत्रीय मञ्चका रूपमा हेरिएको छ।





