४ असार २०८३, बिहीबार

चीनको क्वाङ्सीमा विस्फोट : सात जनाको मृत्यु, १७ घाइते

दक्षिण चीनको क्वाङ्सी च्वाङ स्वायत्त क्षेत्रस्थित सिङआन काउन्टीमा बिहीबार बिहान भएको विस्फोटमा सात जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार घटनामा १७ जना घाइते भएका छन्। विस्फोट बिहीबार बिहान करिब १ः४० बजे भएको जनाइएको छ।

स्थानीय अधिकारीहरूले बिहीबार साँझ ६ बजेसम्मको अवस्थाबारे जानकारी दिँदै घाइतेमध्ये सात जनाको सिङआन काउन्टीमै उपचार भइरहेको र उनीहरूको स्वास्थ्य अवस्था स्थिर रहेको बताएका छन्। बाँकी १० जनालाई क्वाङ्सीको गुइलिन सहरमा स्थानान्तरण गरिएको छ। तीमध्ये पाँच जना गम्भीर र पाँच जना सामान्य घाइते रहेको तथा उपचारपछि सबैको अवस्था स्थिर रहेको जनाइएको छ।

विस्फोटपछि उद्धार, खोजी तथा क्षतिको मूल्याङ्कनका लागि ५० भन्दा बढी कार्यदलमा ३०० भन्दा धेरै जनशक्ति परिचालन गरिएको छ। उनीहरूले विस्फोट भएको क्षेत्र र आसपासका स्थानमा मानवीय क्षति तथा सम्पत्तिमा पुगेको क्षतिको विस्तृत जाँच गरिरहेका छन्।

प्रारम्भिक जाँचअनुसार पानी, ग्यास र सञ्चार सेवा सामान्य रूपमा सञ्चालनमा रहेको पाइएको छ। तर, विद्युत् लाइनमा क्षति पुगेकाले अस्थायी रूपमा विद्युत् आपूर्ति गरिएको छ भने मर्मतकार्य जारी रहेको छ। भवनहरूको सुरक्षा अवस्थाको मूल्याङ्कन भइरहेको र सावधानीका रूपमा सबै स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले जनाएका छन्।

प्रभावित बासिन्दाका लागि अधिकारीहरूले ४० वटा पाल स्थापना गरेका छन्। साथै, नजिकैका होटलहरूमा पनि अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ। घटनास्थलमा प्रहरी, दमकल, स्वास्थ्यकर्मी र आपत्कालीन उद्धार टोली खटिएका छन्। China Daily का अनुसार उद्धार टोलीहरूले घटनास्थलमा चार चरणमा खोजी कार्य पूरा गरिसकेका छन्।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानले पाइपलाइन ग्यास वा त्यस्तै कारणबाट विस्फोट भएको सम्भावना अस्वीकार गरेको छ। घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button