आबा क्षेत्रमा तिब्बती प्राचीन ग्रन्थ संरक्षणको महत्वपूर्ण केन्द्र

चीनको सिचुआन प्रान्तस्थित आबा तिब्बती तथा छ्याङ स्वायत्त प्रिफेक्चरमा रहेको तिब्बती भाषा पुस्तकालयले तिब्बती प्राचीन ग्रन्थहरूको संरक्षण, व्यवस्थापन र अध्ययन–अनुसन्धानका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
आबा प्रिफेक्चर तिब्बती भाषा अनुवाद तथा सम्पादन ब्युरोको मातहतमा सञ्चालित उक्त पुस्तकालयमा नौवटा पुस्तक कक्ष र एउटा प्रतिवेदन कक्ष रहेका छन्। तीमध्ये प्राचीन ग्रन्थ संरक्षण कक्ष पुस्तकालयको विशेष आकर्षणका रूपमा रहेको छ।
करीब ४० वर्षभन्दा लामो समयदेखि तिब्बती भाषा अनुवाद तथा सम्पादन क्षेत्रमा कार्यरत कर्मचारीहरूको निरन्तर मेहनत, लगनशीलता र समर्पणका कारण प्राचीन तिब्बती ग्रन्थहरूको संरक्षण र व्यवस्थित अभिलेखीकरण सम्भव भएको जनाइएको छ।

उक्त संरक्षण कक्षमा पाँच हजारभन्दा बढी तिब्बती प्राचीन ग्रन्थका पोथीहरू सुरक्षित रूपमा राखिएका छन्। ती ग्रन्थहरूलाई मुख्य रूपमा काङ्ग्युर–तेङ्ग्युर, संकलित प्रवचन, संकलित कृतिहरू र विविध ग्रन्थ गरी चार भागमा वर्गीकरण गरिएको छ।
यी ग्रन्थहरूमा पाँच ठूला र पाँच साना परम्परागत विद्याशाखा, इतिहास, साहित्य, राजनीति, कानुनलगायत विभिन्न विषयवस्तु समेटिएका छन्। यसले तिब्बती भाषा, संस्कृति, धर्म, दर्शन, इतिहास र ज्ञान परम्पराको गहिरो अध्ययनका लागि महत्वपूर्ण आधार प्रदान गरेको छ।

पुस्तकालयमा देगे काठे छापाका ग्रन्थ, ल्हासा काठे छापा, पोताला शोल छापा, फो ल्हाबाको सुनले लेखिएको संस्करण, रा–ग्या तेल छापा तथा बोन परम्पराका काङ्ग्युरलगायत चर्चित मुद्रित संस्करणहरू सुरक्षित छन्।
त्यसैगरी लाब्राङ गुम्बा, कुम्बुम गुम्बा, रोङ्वो गुम्बा, आबा क्षेत्रका स्थानीय चाङवा गुम्बा, छोदुन गुम्बा र किर्ती गुम्बाका काठे छापाका संस्करणहरू पनि पुस्तकालयमा संग्रहित छन्। त्यहाँ विभिन्न प्रकारका ३० भन्दा बढी काठे छापाका संस्करणहरू उपलब्ध रहेको उल्लेख गरिएको छ।
आबा तिब्बती भाषा पुस्तकालयको प्राचीन ग्रन्थ संरक्षण कक्षले तिब्बती संस्कृति तथा प्राचीन ग्रन्थमा रुचि राख्ने स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरूका लागि आवश्यक अध्ययन वातावरण र अनुसन्धान सुविधा उपलब्ध गराउँदै आएको छ।
तिब्बती ज्ञान, भाषा, साहित्य र सांस्कृतिक सम्पदाको संरक्षणका दृष्टिले यो पुस्तकालय महत्वपूर्ण बौद्धिक केन्द्रका रूपमा विकसित हुँदै गएको छ। प्राचीन ग्रन्थहरूको संरक्षण, वर्गीकरण र अध्ययन–अनुसन्धानमार्फत यसले तिब्बती सांस्कृतिक धरोहरलाई भावी पुस्तासम्म पुर्याउने काम गरिरहेको छ।





