मिडिया ट्रायलविरुद्ध गंगा दाहालको आपत्ति, छानबिनमा सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी तथा स्वकीय सचिव गंगा दाहालले आफू र आफ्नो परिवारविरुद्ध योजनाबद्ध रूपमा ‘मिडिया ट्रायल’ चलाइएको भन्दै गम्भीर आपत्ति जनाएकी छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै दाहालले केही दिनदेखि युट्युब, फेसबुक र टिकटकमार्फत आधारहीन, भ्रामक र षड्यन्त्रपूर्ण दुष्प्रचार फैलाइएको आरोप लगाएकी छन्। उनले त्यस्ता सामग्रीलाई पूर्ण रूपमा खारेज गर्दै राजनीतिक पूर्वाग्रहका आधारमा सामाजिक सञ्जालको दुरुपयोग गरी बारम्बार बदनाम गर्ने प्रयास भइरहेको बताएकी छन्।
दाहालले नेपाल सरकार तथा सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराउँदै भ्रम फैलाउने र बदनाम गर्ने गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनबमोजिम कडा कारबाही गर्न माग गरेकी छन्।
उनले आफ्ना भाइ प्रकाश दाहालको असामयिक निधनपछि पार्टीकै निर्णयअनुसार नेतृत्वलाई सहयोग गर्दै आएको उल्लेख गरेकी छन्। व्यक्तिगत लाभ, पद वा प्रतिष्ठाको अपेक्षा नराखी आफूले पार्टी र नेतृत्वको हितमा समय, ऊर्जा र क्षमता समर्पित गर्दै आएको उनको भनाइ छ।
दाहालले पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरूलाई पार्टी र नेतृत्वको बदनाम गर्ने उद्देश्यले आफूहरूविरुद्ध चलाइएको मिडिया ट्रायलको सशक्त प्रतिवाद गर्न आग्रह गरेकी छन्।
साथै, उनले नेपाल सरकारका सम्बन्धित निकायहरूले आवश्यक ठानेको जुनसुकै छानबिन वा अनुसन्धानका लागि आफूहरू पूर्ण रूपमा सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेकी छन्।
“सत्यलाई भ्रमले कहिल्यै पराजित गर्न सक्दैन,” उनले सार्वजनिक वक्तव्यमा भनेकी छन्।
दाहालले आम नागरिकलाई अफवाह र भ्रममा नपर्न पनि आग्रह गरेकी छन्। पछिल्लो समय सामाजिक सञ्जालमा राजनीतिक व्यक्ति, उनका परिवार तथा सहयोगीहरूलाई लक्षित गरी विभिन्न दाबी, आरोप र अपुष्ट सामग्रीहरू फैलिने क्रम बढिरहेका बेला दाहालको यस्तो प्रतिक्रिया आएको हो।





