४ असार २०८३, बिहीबार

सत्ता पक्षले नेपाली भूमि खोज्नुपर्नेमा उल्टै नेपालले मिचेको भूमि खोज्यो : आङदेम्बे

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सत्ता पक्षका केही सांसदहरूले नेपालले भारतको भूमि मिचेको पुष्टि गर्न खोजेको भन्दै आपत्ति जनाएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै आङदेम्बेले नेपाली सांसदहरूको दायित्व आफ्नो देशले कसैको सीमा नमिचेको स्पष्ट पार्नु हुनुपर्ने बताए। तर सत्ता पक्षकै केही सांसदहरू नेपालले भारतको सीमा मिचेको हो भन्ने प्रमाण खोज्न लागेको देख्दा आफू लज्जित भएको उनको टिप्पणी थियो।

उनले भने, “सत्ता पक्षका सांसदहरूले मेरो देशले कसको सीमा कहाँ मिचेको छ भनेर प्रश्न गर्लान् भनेको त, सभामुख महोदय, म आफैँ लज्जित छु। उल्टै कतिपय सांसद मित्रहरू नेपालले भारतको सीमा मिचेको हो भनेर पुष्टि गर्न न्वारनदेखिको बल लगाएर दौडिराख्नुभएको छ।”

आङदेम्बेले यस्तो गतिविधि देश र जनताले स्वीकार गर्न नसक्ने खालको भएको बताए। उनले देशहितविपरीत हुने हर्कत गर्नेहरूलाई वीर भक्ति थापाको आत्माले पनि धिक्कार्ने टिप्पणी गरे।

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि भएको कुरा विश्व समुदायलाई थाहा भएको उल्लेख गर्दै उनले सीमा समस्या गम्भीर कूटनीतिक संवादमार्फत समाधान गर्नुपर्ने धारणा राखे।

आङदेम्बेले सत्तापक्षकै कारण संसदमा प्रश्न गर्ने क्षमताको समेत आत्महत्या भइरहेको कारुणिक दृश्य देख्नुपरेको टिप्पणी गरे।

प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा “नेपालले पनि भारतको भूमि मिचेको छ” भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि प्रतिपक्षी दलहरूले लगातार जवाफ माग्दै आएका छन्। सोही विषयमा बुधबार परराष्ट्रमन्त्री शिशिर खनालले संसदमा स्पष्टीकरण दिँदै प्रधानमन्त्रीको अभिव्यक्ति “क्रस बोर्डर अकुपेसन” सँग सम्बन्धित रहेको बताएका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button