४ असार २०८३, बिहीबार

पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले देशका विभिन्न भागमा वर्षा सम्भावना

नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना देखिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ। तराई क्षेत्रमा भने आंशिक बदली रहेको छ।

लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

कोशी र मधेस प्रदेशका केही स्थान तथा देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। त्यस्तै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पनि कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहनेछ। मधेस प्रदेशलगायत तराई भूभागमा भने आंशिक बदली रहनेछ।

राति कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। साथै मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा देशका हिमाली भूभागका एक–दुई स्थानमा वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ।

महाशाखाले वर्षा, चट्याङ र हिमपातका कारण दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सम्बद्ध सबैलाई आग्रह गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button