लुम्बिनी मन्त्रिपरिषद बैठक : आर्थिक कार्यविधि नियमावली स्वीकृत

लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नियमावली, २०८३ स्वीकृत गरेको छ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बिहीबार बेलुका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको उक्त नियमावली स्वीकृत गरेको हो।
सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेका अनुसार नयाँ नियमावली लागू भएसँगै बजेट कार्यान्वयन, वित्तीय व्यवस्थापन र योजना सञ्चालन प्रक्रिया थप प्रभावकारी, सहज र उत्तरदायी हुने अपेक्षा गरिएको छ।
यसअघि आन्तरिक रकमान्तरका लागि सम्बन्धित मन्त्रालयले आर्थिक मामिला तथा योजना मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था थियो। नयाँ नियमावलीले उक्त प्रक्रियालाई थप सहज बनाएको छ।
त्यसैगरी, योजना संशोधनको अधिकार सम्बन्धित मन्त्रालयलाई नै प्रदान गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए। यस व्यवस्थाले योजना कार्यान्वयनका क्रममा हुने ढिलासुस्ती कम गर्न मद्दत पुग्ने सरकारको विश्वास छ।
अघिल्लो नियमावलीमा योजनाको नाम संशोधन गर्ने समयसीमा पुस मसान्तसम्म मात्र थियो। नयाँ नियमावलीले उक्त समयसीमा चैत मसान्तसम्म विस्तार गरेको छ। यसले कार्यान्वयनका क्रममा आवश्यक देखिएका योजनाको नाम तथा विवरण संशोधन गर्न थप समय उपलब्ध गराउनेछ।
प्रदेश सरकारका अनुसार नयाँ नियमावलीले बजेट कार्यान्वयनलाई परिणाममुखी, पारदर्शी र उत्तरदायी बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।





