अमेरिका र क्रोएसिया पठाउने भन्दै ठगी गरेको आरोपमा दुई पक्राउ

काठमाडौं । अमेरिका र क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रु ४० लाख ५० हजार ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका–२ की ४५ वर्षीया रुकुकुमारी श्रेष्ठ र मोरङको उर्लाबारी नगरपालिका–६ का ३५ वर्षीय शैलेन्द्र शाक्य रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीका अनुसार श्रेष्ठले अमेरिका पठाइदिने भन्दै रु ३५ लाख लिएको र शाक्यले क्रोएसिया पठाइदिने भन्दै रु ३ लाख ५० हजार लिएको उजुरी परेको थियो।
रकम लिएपछि विदेश नपठाई सम्पर्कविहीन भएको पीडितहरूको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुवै जनालाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो। उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरी उपरीक्षक थापा क्षेत्रीले जानकारी दिए।





