४ असार २०८३, बिहीबार

कर्णालीमा मनसुन विपद पूर्वतयारी तथा प्रतिकार्य योजना अनुमोदन

कर्णाली प्रदेशको प्रारम्भिक विपद–मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३ अनुमोदन गरिएको छ।

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रतिबद्ध चरण–३ परियोजना र सेभ द चिल्ड्रेनको सहकार्यमा बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यशाला गोष्ठीमार्फत उक्त योजना अनुमोदन गरिएको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअन्तर्गत शान्ति सुरक्षा तथा विपद व्यवस्थापन महाशाखाका प्रमुख उत्तम गौतमका अनुसार योजना अनुमोदनअघि जिल्ला तथा प्रदेशस्तरका सरोकारवालासँग समीक्षा, परामर्श र प्राविधिक छलफल गरिएको थियो।

गोष्ठीमा प्रदेश सरकारले तयार पारेका विपद्सम्बन्धी नीति, योजना, मापदण्ड र मार्गदर्शनबारे प्रस्तुति गरिएको थियो। साथै, विपद पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३ को मस्यौदामाथि सरोकारवालासँग छलफल गरी आवश्यक सुझाव र प्राविधिक सहयोग संकलन गरिएको गौतमले बताए।

कार्यक्रममा विपद पूर्वतयारी र प्रतिकार्यका क्षेत्रमा भएका उत्कृष्ट अभ्यास तथा अनुभवहरू पनि प्रस्तुत गरिएको थियो।

पिपल इन निड अन्तर्गत प्रतिबद्ध–३ परियोजनाका कर्णाली प्रदेश संयोजक उज्ज्वल अधिकारीले कार्यशालाले योजना अन्तिम रूप दिन र अनुमोदन प्रक्रियामा सहयोग पुर्‍याएको बताए। उनले विषयगत क्षेत्रअनुसार समूहगत छलफल, प्राप्त सिफारिस, सहमति र आगामी कार्यदिशाबारे सहजीकरण गरेका थिए।

गोष्ठीमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार बमले विपद संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१ को भूमिकाबारे प्रस्तुति राखेका थिए।

सेभ द चिल्ड्रेनका सुर्खेत फिल्ड प्रमुख रत्नराज ओझाले अनुमोदित प्रतिकार्य योजनाले सरोकारवाला निकायलाई जिम्मेवार बनाउने बताए। उनका अनुसार यो योजनाले कर्णालीमा विपद जोखिम न्यूनीकरण र नागरिक सुरक्षामा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यशालामा स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय, सुरक्षा निकाय, विकास साझेदार, निजी क्षेत्र, संस्थान, आपतकालीन कार्य सञ्चालन केन्द्र तथा सूचना, प्रविधि र सञ्चार क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो।

अनुमोदित योजनाले मनसुनजन्य विपद्का जोखिमलाई ध्यानमा राख्दै पूर्वतयारी, राहत, उद्धार, समन्वय र प्रतिकार्यलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button