कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक म्याद थप

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक तथा डिजिटल परिचयपत्र वितरण अभियानको म्याद थप गरेको छ।
पार्टीले जारी गरेको विज्ञप्तिअनुसार क्रियाशील सदस्यता अद्यावधिकका लागि यसअघि जेठ २८ गते राति १२ बजेसम्मको समयसीमा तोकिएको थियो। तर, अर्को सूचना जारी नभएसम्मका लागि सदस्यता वितरण तथा अद्यावधिकको म्याद थप गरिएको कांग्रेसले जनाएको छ।
कांग्रेसका अनुसार क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख ८२ हजार २०९ योग्य सदस्यमध्ये हालसम्म पाँच लाख ३८ हजार ६२२ जनाले वडा सभापतिमार्फत डिजिटल परिचयपत्र प्राप्त गरिसकेका छन्।
त्यसैगरी, एक लाख ४९ हजार ३०९ सदस्यले स्वयं अद्यावधिक फाराम पेस गरिसकेका छन्। उनीहरूको विवरण वडा सभापतिमार्फत अद्यावधिक हुने प्रक्रियामा रहेको पार्टीले जनाएको छ।
कांग्रेसले बाँकी सदस्यहरूलाई पनि तोकिएको प्रक्रिया पूरा गरी क्रियाशील सदस्यता अद्यावधिक गर्न आग्रह गरेको छ। डिजिटल प्रणालीमार्फत सदस्यता अभिलेखलाई व्यवस्थित, पारदर्शी र अद्यावधिक बनाउने उद्देश्यसहित अभियान अघि बढाइएको पार्टीले जनाएको छ।





