२९ जेष्ठ २०८३, शुक्रबार

बालश्रम अन्त्यको लक्ष्य अझै चुनौतीपूर्ण

काठमाडौं । बालश्रमविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वभर विभिन्न कार्यक्रम गरी विश्व बालश्रमविरुद्ध दिवस मनाइँदै छ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को आह्वानमा सन् २००२ देखि प्रत्येक वर्ष जुन १२ मा यो दिवस मनाउन थालिएको हो। बालश्रमले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र समग्र विकासमा गम्भीर असर पार्ने भएकाले यसको अन्त्यका लागि विश्वव्यापी रूपमा निरन्तर प्रयास हुँदै आएको छ।

विगत दुई दशकमा बालश्रम न्यूनीकरणमा उल्लेखनीय प्रगति भए पनि यसको अन्त्यका लागि हालको गति पर्याप्त नभएको आईएलओले जनाएको छ। सन् २०२५ सम्म बालश्रम उन्मूलन गर्ने विश्वव्यापी लक्ष्य पूरा हुन नसकेको भन्दै थप तीव्र र समन्वित प्रयासको आवश्यकता औँल्याइएको छ।

संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) र आईएलओका अनुसार सन् २००० मा विश्वभर २४ करोड ६० लाख बालबालिका बालश्रममा संलग्न थिए। पछिल्लो तथ्यांकअनुसार उक्त संख्या घटेर १३ करोड ८० लाखमा झरेको छ। यद्यपि बालश्रम अन्त्यका लागि भएको प्रगति सुस्त रहेकाले आगामी वर्षहरूमा थप प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।

विश्वमा बालश्रमको सबैभन्दा ठूलो भार अफ्रिका क्षेत्रमा रहेको छ। विश्वका कुल बालश्रमिकमध्ये करिब दुईतिहाइ अर्थात् झण्डै आठ करोड ७० लाख बालबालिका अफ्रिकामा बालश्रममा संलग्न छन्। त्यहाँ बालश्रमको दर केही घटे पनि जनसंख्या वृद्धि, द्वन्द्व, चरम गरिबी र कमजोर सामाजिक सुरक्षा प्रणालीका कारण प्रभावित बालबालिकाको संख्यामा अपेक्षित कमी आउन सकेको छैन।

एसिया तथा प्रशान्त क्षेत्रमा भने पछिल्ला वर्षहरूमा उल्लेखनीय सुधार देखिएको छ। सन् २०२० यता यस क्षेत्रमा बालश्रमको दर ६ प्रतिशतबाट घटेर ३ प्रतिशतमा झरेको छ। यस अवधिमा बालश्रममा संलग्न बालबालिकाको संख्या चार करोड ९० लाखबाट घटेर दुई करोड ८० लाखमा पुगेको छ।

ल्याटिन अमेरिका तथा क्यारिबियन क्षेत्रमा बालश्रमको दर स्थिर देखिए पनि प्रभावित बालबालिकाको संख्या ८० लाखबाट घटेर करिब ७० लाखमा झरेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनअनुसार कृषि क्षेत्र अझै पनि बालश्रमको सबैभन्दा ठूलो केन्द्रका रूपमा रहेको छ। कुल बालश्रमिकमध्ये ६१ प्रतिशत बालबालिका कृषि क्षेत्रमा संलग्न छन्। सेवा क्षेत्रमा २७ प्रतिशत बालबालिका कार्यरत छन्, जसमा घरेलु कामकाज र बजारमा सामान बिक्रीजस्ता गतिविधि पर्छन्। उद्योग क्षेत्रमा १३ प्रतिशत बालबालिका संलग्न छन्, जसमा खानी तथा उत्पादनमूलक उद्योगसमेत समावेश छन्।

बालश्रम अन्त्यका लागि युनिसेफ र आईएलओले सरकारहरूलाई जोखिममा रहेका परिवारका लागि सामाजिक सुरक्षा कार्यक्रम विस्तार गर्न, बालभत्ता तथा संरक्षण प्रणाली सुदृढ बनाउन, सबै बालबालिकाका लागि गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्न र वयस्क तथा युवाका लागि मर्यादित रोजगारी सिर्जना गर्न आग्रह गरेका छन्।

त्यसैगरी, श्रम कानुनको प्रभावकारी कार्यान्वयन, आपूर्ति शृंखलामा हुने बालशोषण नियन्त्रण र निजी क्षेत्रको जिम्मेवार भूमिकालाई पनि बालश्रम अन्त्यका प्रमुख आधारका रूपमा अघि सारिएको छ।

बालश्रम अन्त्यका लागि सरकार, निजी क्षेत्र, समुदाय, नागरिक समाज र अन्तर्राष्ट्रिय साझेदारबीच थप प्रभावकारी सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ। बालबालिकाको भविष्य सुरक्षित गर्न शिक्षा, संरक्षण र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर अघि बढ्नु आजको मुख्य आवश्यकता रहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button