४ असार २०८३, बिहीबार

डा. प्रमोद लामिछानेको नेतृत्वमा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन

काठमाडौं । हाडजोर्नी उपचार तथा ट्रमा व्यवस्थापन क्षेत्रमा कार्यरत चिकित्सकहरूको सहभागितामा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन गरिएको छ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा हाडजोर्नी विशेषज्ञ डा. प्रमोद लामिछानेको अध्यक्षतामा सोसाइटी गठन गरिएको हो। वरिष्ठ चिकित्सक प्रा. डा. रमेशप्रसाद सिंहलाई सोसाइटीको संरक्षक चयन गरिएको छ।

सोसाइटीको वरिष्ठ उपाध्यक्षमा डा. शैलेन्द्रकुमार दुवाल श्रेष्ठ, उपाध्यक्षमा डा. हेमन्तकुमार गुप्ता, महासचिवमा डा. विजयेन्द्र अधिकारी, कोषाध्यक्षमा डा. आलोक पाण्डे, सहसचिवमा डा. पविन थापा र सहकोषाध्यक्षमा डा. सन्जित झा चयन भएका छन्।

त्यसैगरी, डा. सरोज सिंह, डा. ओमप्रकाश चौधरी, डा. राजीव झा, डा. तोयाराज भट्ट, डा. ललित चौधरी, डा. सुदीप खनाल र डा. सार्थक नेपाल सदस्यमा मनोनीत भएका छन्।

प्रदेशस्तरीय सदस्यमा कोशीबाट डा. रुपेशजंग बेल्बासे, मधेशबाट डा. चन्द्रभूषण यादव, बागमतीबाट डा. मनोज कँडेल, गण्डकीबाट डा. झपेन्द्र पोखरेल, लुम्बिनीबाट डा. प्रकृतिराज कँडेल, कर्णालीबाट डा. पूजनकुमार रोकाया र सुदूरपश्चिमबाट डा. मन्दीप पाठक चयन भएका छन्।

नवनियुक्त पदाधिकारी तथा सदस्यहरूको नामावली सार्वजनिक गर्दै अध्यक्ष डा. लामिछानेले वैज्ञानिक समितिको अध्यक्षमा डा. रोहित श्रेष्ठ चयन भएको जानकारी दिए। समितिका सदस्यमा डा. भाष्करराज कार्की, डा. मनीष श्रेष्ठ र डा. विश्वबन्धु निरौला रहेका छन्।

अध्यक्ष डा. लामिछानेका अनुसार नेपालको हाडजोर्नी तथा ट्रमा सेवालाई अझ सुलभ, गुणस्तरीय र सर्वसाधारणको पहुँचमा पुर्‍याउने उद्देश्यले सोसाइटी गठन गरिएको हो। उनले काठमाडौं उपत्यकाबाहिरका जिल्लामा कार्यरत हाडजोर्नी विशेषज्ञ चिकित्सकलाई पनि सम्भव भएसम्म समेट्ने प्रयास गरिएको बताए।

सोसाइटीले ट्रमा सेन्टरको विकास तथा विस्तार, जनचेतना अभिवृद्धि, अनुसन्धानमूलक गतिविधि, ट्रमा सर्जरीको गुणस्तर सुधार, दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा विस्तार र नीति निर्माण तहमा सहयोग पुर्‍याउने विषयलाई प्राथमिकतामा राख्ने जनाएको छ।

नेपालमा सडक दुर्घटना, कार्यस्थलमा हुने चोटपटक तथा विभिन्न विपद्का कारण गम्भीर चोटपटकका घटना बढ्दै गएकाले ट्रमा उपचार सेवालाई थप प्रभावकारी बनाउन विशेषज्ञहरूबीच ज्ञान, अनुभव र नवीनतम प्रविधिको आदानप्रदान आवश्यक रहेको सोसाइटीले जनाएको छ।

सोसाइटीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा कार्यशाला, गोष्ठी, नयाँ सर्जनका लागि फेलोसिप कार्यक्रम, उत्कृष्ट सर्जनलाई पुरस्कार, निःशुल्क स्वास्थ्य शिविर तथा ज्ञानवर्द्धक कार्यक्रम सञ्चालन गर्ने योजना पनि अघि सारेको छ।

सोसाइटीका अनुसार नेपालमा हाल करिब ९०० हाडजोर्नी विशेषज्ञ चिकित्सक कार्यरत छन्। दुर्घटना तथा विपद्का कारण गम्भीर चोटपटक भोग्ने बिरामीहरूको उपचारमा उनीहरूको महत्वपूर्ण भूमिका रहँदै आएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button