२९ जेष्ठ २०८३, शुक्रबार

कैलालीको गोदावरी नदीमा बाढीले दुई महिला बगायो, एक मृत फेला

कैलालीको गोदावरी नदीमा आएको बाढीले दुई महिलालाई बगाएको छ। गएराति परेको अविरल वर्षाका कारण नदीमा आएको बाढीमा परेर गोदावरी नगरपालिका–४ का दुई महिला बगेका हुन्।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डिएस्पी हिरासिंह महराका अनुसार पहाडी क्षेत्रमा परेको अविरल वर्षापछि गोदावरी नदीमा आएको बाढीले उनीहरूलाई बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली परिचालन गरिएको थियो। खोजतलासका क्रममा गोदावरी–४ स्थित मसानघाट नजिकै ५५ वर्षीया महेश्वरी धमला मृत अवस्थामा फेला परेकी छन्।

त्यस्तै, ४० वर्षीया कल्पना साउँदलाई खोलाले बगाएको पुष्टि भएको छ। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक जानकारीअनुसार उनीहरू बिहान च्याउ टिप्न जंगलतर्फ गएको बुझिएको छ। सोही क्रममा नदीमा आएको बाढीले उनीहरूलाई बगाएको हुन सक्ने अनुमान गरिएको छ।

डिएस्पी महराका अनुसार थप प्रहरी टोली परिचालन गरी खोज तथा उद्धार कार्य निरन्तर भइरहेको छ। घटनास्थल अस्थायी प्रहरी पोस्ट गोदावरीबाट करिब एक किलोमिटर पश्चिममा पर्छ।

प्रहरीले स्थानीयवासीसँग समन्वय गर्दै घटनाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button