४ असार २०८३, बिहीबार

पदस्थायी होइन, जनताको माया स्थायी : पूर्वमन्त्री प्रेमबहादुर भण्डारी

कचनापुर – जिल्ला पंचायतदेखि मन्त्रीसम्मको यात्रा तय गरेका नेता प्रेमबहादुर भण्डारी आजभन्दा तीस वर्षअघि माननीय र मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो। तर उहाँको पहिचान पद र शक्तिसँग मात्र सीमित छैन। जनतासँगको निरन्तर सम्बन्ध र सरल व्यवहारले उहाँलाई राजनीतिको एउटा फरक पाटोको प्रतिनिधित्व गर्ने नेताका रूपमा स्थापित गरेको छ।

हाल पनि राजनीतिमा उत्तिकै सक्रिय रहनुभएका भण्डारीलाई शालीन, बेदाग र विश्वासिलो नेता भनेर आफ्नै राजनीतिक धारका मात्र होइन, फरक–फरक राजनीतिक विचारधारा राख्ने व्यक्तिहरूले समेत उत्तिकै सम्मान गर्ने गरेको पाइन्छ। उहाँको व्यक्तित्वले राजनीतिमा पनि मर्यादा, सादगी र मानवीय संवेदनाको ठाउँ रहन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।

कचनापुर गाउँमा अर्थपेजका तस्बिरकार कमल डाँगीसँग कुराकानी गर्दै भण्डारीले राजनीतिक पद र जनताबीचको सम्बन्धबारे आफ्नो धारणा राख्नुभयो। उहाँले भन्नुभयो, “पद अस्थायी हो, जनतासँगको सम्बन्ध स्थायी हुनुपर्छ। जनताले नै सांसद र मन्त्री बनाएका हुन्। पदमा हुँदा मान खोजिनँ, त्यसैले अहिले पद नहुँदा पनि जनतासँगै बस्दा कुनै अप्ठ्यारो छैन, झन् आनन्द छ।”

उहाँको यो सोचले आजको राजनीतिक परिवेशमा एउटा महत्त्वपूर्ण सन्देश दिएको छ – पद र शक्ति क्षणिक हुन्छन् तर जनतासँगको सम्बन्ध, सेवाभाव र विश्वास नै राजनीतिको स्थायी पुँजी हुन्। आफू सत्ता र पदबाट टाढा भए पनि भण्डारी आफ्नो गाउँमा जनताबीच नै रहँदै आउनुभएको छ। उहाँको सादा जीवनशैली र सहज व्यवहारले आजका नयाँ पुस्ताका नेताहरूका लागि समेत एउटा उदाहरणीय पाटो प्रस्तुत गरेको छ।

पूर्वमन्त्री भण्डारीको यो उक्तिले राजनीतिमा सेवा, सादगी र जनसम्बन्धको महत्त्व अझ स्पष्ट रूपमा उजागर गरेको छ। उहाँको अनुभव र विचारले वर्तमान राजनीतिलाई दीर्घकालीन जनसम्बन्धको दृष्टिकोणबाट हेर्न प्रेरित गर्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button