४ असार २०८३, बिहीबार

गृहमन्त्री गुरुङलाई पुनः जिम्मेवारी दिएकोमा कांग्रेस सांसद खड्काको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले गृहमन्त्री सधन गुरुङलाई पुनः सोही जिम्मेवारी दिइएको भन्दै सरकारको आलोचना गरेका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खड्काले सम्पत्तिलगायतका विषयमा प्रश्न उठेका तथा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा जेनजी आन्दोलनका क्रममा दोषी ठहरिएका तत्कालीन गृहमन्त्री गुरुङलाई पुनः गृह मन्त्रालयको जिम्मेवारी दिइएको भन्दै आपत्ति जनाएका हुन्।

उनले दोषीमाथि कारबाही गर्नुको साटो सरकारले पुरस्कार दिने काम गरेको आरोप लगाए। सुशासनको नारा लगाउने सरकारले आफ्ना व्यक्तिलाई जोगाउने र पुरस्कृत गर्ने प्रवृत्ति देखाएको उनको भनाइ थियो।

“माननीय गृहमन्त्रीज्यूमाथि सम्पत्तिलगायतका विषयमा प्रश्न उठेपछि छलछाम समिति बनाइयो। सुनिन्छ, उक्त समितिले चोख्यायो रे। प्रतिवेदन सार्वजनिक नगरी फेरि उहाँलाई गृहमन्त्री बनाइयो,” खड्काले भने।

उनले एकातिर सुशासनको नारा लगाउने र अर्कोतिर आफ्ना व्यक्तिलाई संरक्षण गर्ने कार्य स्वीकार्य नहुने बताए। राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले समेत गुरुङलाई दोषी देखाएको दाबी गर्दै उनले सरकार आफैं निर्णायक र आफैं पुरस्कर्ता बनेको टिप्पणी गरे।

“अब क्रमभंगता र सुशासनको गफ हाँक्न छोडौँ। आफ्नालाई जोगाउने र पुरस्कृत गर्ने काम गर्नु हुँदैन,” उनले भने।

सांसद खड्काले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिएको विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने अडान पनि दोहोर्‍याए। उनका अनुसार राष्ट्रिय स्वाभिमान र संवेदनशील विषयमा प्रधानमन्त्रीस्तरबाट आएका अभिव्यक्तिप्रति सरकार स्पष्ट हुनुपर्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button