४ असार २०८३, बिहीबार

रास्वपा महाधिवेशन नजिकिँदै गर्दा रवि–बालेन समूहको मतभेद सतहमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन नजिकिँदै गर्दा पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन साहनिकट समूहबीचको आन्तरिक मतभेद सतहमा देखिन थालेको छ।

महाधिवेशन तयारी, नेतृत्व व्यवस्थापन र पार्टीभित्रको शक्ति सन्तुलनलाई लिएर दुवै पक्षका नेताहरू सामाजिक सञ्जालमार्फत एकअर्काप्रति कटाक्ष गर्न थालेपछि रास्वपाभित्रको आन्तरिक द्वन्द्व सार्वजनिक रूपमा देखिन थालेको हो।

पार्टी स्रोतका अनुसार महाधिवेशन तयारीबारे छलफल गर्न सभापति लामिछानेले वरिष्ठ नेता साहसँग समय मागेका थिए। तर साहले ‘भूपदेवसँग छलफल गर्नु’ भन्ने आशयको सन्देश पठाएको बताइएपछि लामिछानेनिकट नेताहरू असन्तुष्ट बनेको चर्चा छ।

यसैबीच लामिछानेको कोर टिमका सदस्य मानिने प्रमोद न्यौपानेले सामाजिक सञ्जालमा “ढुक्क हुनुस्, यसरी चाहिँ बन्दै बन्दैन” भन्ने स्टाटस लेखेका थिए। उक्त स्टाटसलाई पार्टीभित्र बालेन समूहको प्रभाव बढ्दै गएको र त्यसले आन्तरिक असन्तुष्टि गहिरिँदै गएको संकेतका रूपमा कतिपयले व्याख्या गरेका छन्।

त्यसको जवाफझैँ बालेननिकट मानिने नेता आसिफ साहले सामाजिक सञ्जालमै “ढुक्क हुनुहोस्, बन्ने यसरी नै हो” लेख्दै न्यौपानेप्रति कटाक्ष गरेका छन्।

आसिफ साह कलाकारसमेत हुन्। उनी बालेन समूहबाट समानुपातिक सांसद बन्ने चर्चामा थिए। तर विवाद र आलोचना भएपछि उनको नाम फिर्ता भएको थियो। उनका दाइ असिम साह हाल बालेनका सल्लाहकारका रूपमा सक्रिय छन्।

दुवै समूहका नेताहरूले सामाजिक सञ्जालमार्फत संकेतात्मक टिप्पणी गर्न थालेपछि रास्वपाभित्रको आन्तरिक शक्ति संघर्ष महाधिवेशनअघि नै चर्किँदै गएको बुझाइ पार्टी पंक्तिभित्र देखिएको छ।

रास्वपाको प्रथम महाधिवेशनलाई पार्टीको भावी नेतृत्व संरचना, संगठनात्मक दिशा र आन्तरिक शक्ति सन्तुलन निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। तर महाधिवेशनअघि नै नेतृत्व तहका दुई समूहबीच अविश्वास बढ्दै गएको संकेत देखिनुले पार्टीभित्र सहमति निर्माणको चुनौती थपिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button