सुस्तामा एसएसबी प्रवेश : प्रधानमन्त्रीको अभिव्यक्तिको उपज होइन : सरकारका प्रवक्ता

पश्चिम नवलपरासी – सुस्ता क्षेत्रमा आज बिहान भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोली प्रवेश गरेको घटनालाई प्रधानमन्त्री वालेन्द्र शाहको जेठ १७ गतेको अभिव्यक्तिसँग जोडेर हेर्न नहुने सरकारको भनाइ छ।
सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले आजको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै यो घटना प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिको उपज नभएको दाबी गरे। पोखरेलले सुस्ताको घटनालाई प्रधानमन्त्रीको अभिव्यक्तिसँग जोडेर व्याख्या नगर्न आग्रहसमेत गरे।
सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मी प्रवेश गरेपछि स्थानीयवासीले प्रतिरोध गरेका छन्। यसअघि प्रधानमन्त्री शाहको पछिल्लो अभिव्यक्तिले भारतीय सुरक्षा बलको मनोबल बढाएको आरोप लागेको थियो। तर पोखरेलले भने, “सुस्तामा यस्ता समस्या वर्षौंदेखि आउने गरेका थिए।”
उनले सुस्तामा बस्दै आएका स्थानीयवासीको भूमिकाको प्रशंसा गर्दै भने, “सुस्तामा आफ्नो भूमिको रक्षा गरेर बस्नुभएकालाई नमन गर्नुपर्छ। वर्षौंदेखि, दशकौँदेखि सुस्ताको संरक्षण गरेको छ।” यस विषयमा परराष्ट्र मन्त्रालयले आवश्यक पहल र कूटनीतिक प्रक्रिया अगाडि बढाउने पोखरेलले जानकारी दिए।





