३६३ प्रहरी जवान सहायक हवल्दारमा बढुवा सिफारिस

नेपाल प्रहरीका विभिन्न प्राविधिक समूह तथा उपसमूहमा कार्यरत ३६३ प्रहरी जवानलाई प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस गरिएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समिति सचिवालयले प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम ४ अनुसार जेठ २९ गते बसेको बढुवा समितिको बैठकबाट उनीहरूलाई बढुवाका लागि सिफारिस गरिएको जनाएको छ।
सिफारिस भएका प्रहरी जवानहरू प्राविधिक प्रहरी समूहअन्तर्गतका विभिन्न उपसमूहमा कार्यरत छन्। आवास तथा भौतिक इन्जिनियरिङतर्फ २४ जना, सूचना प्रविधि तथा कम्प्युटरतर्फ १४ जना, सञ्चारतर्फ १९८ जना, मेकानिकल इन्जिनियरिङ तथा सवारीतर्फ ३२ जना बढुवाका लागि सिफारिस भएका छन्।
त्यस्तै, हातहतियार उपसमूहतर्फ २ जना, विधिविज्ञान उपसमूहतर्फ ६ जना, संगीत उपसमूहतर्फ ६३ जना र केनाइन उपसमूहतर्फ २४ जना प्रहरी जवान पनि प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस भएका छन्।
बढुवा समितिका अनुसार कार्यक्षमता, शैक्षिक योग्यता र तालिमका आधारमा प्राप्त कुल अंकलाई आधार मानेर योग्यताक्रम सूची सार्वजनिक गरिएको हो।
सिफारिस सूचीप्रति चित्त नबुझ्ने प्रहरी कर्मचारीले सात दिनभित्र उजुरी सुन्ने समितिसमक्ष उजुरी दिन सक्ने व्यवस्था गरिएको छ।





