५ असार २०८३, शुक्रबार

भेरी अस्पतालमा एनआईसीयू २० शय्यासम्म विस्तार गरिँदै

पश्चिम नेपालको प्रमुख बिरामी प्रेषण केन्द्रका रूपमा रहेको नेपालगञ्जस्थित भेरी अस्पतालमा नवजात शिशुको उपचार सेवालाई थप प्रभावकारी बनाउन नवजात सघन उपचार कक्ष एनआईसीयू विस्तार गरिने भएको छ।

अस्पतालमा हाल सञ्चालनमा रहेका आठ एनआईसीयू शय्यालाई बढाएर २० शय्यासम्म पुर्‍याउने लक्ष्यसहित आवश्यक उपकरण थप गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नालले जानकारी दिए।

उनका अनुसार एनआईसीयू शय्याको अभावका कारण जटिल स्वास्थ्य समस्या भएका नवजात शिशुलाई अन्य अस्पतालमा रेफर गर्नुपर्ने अवस्था रहँदै आएको छ। सेवा विस्तारपछि भेरी अस्पतालले आफ्नै स्रोतसाधनमार्फत थप नवजात शिशुलाई उपचार सेवा दिन सक्नेछ। साथै, अन्य अस्पतालबाट प्रेषित भएर आउने शिशुले पनि सहज रूपमा एनआईसीयू सेवा पाउने अपेक्षा गरिएको छ।

भेरी अस्पतालमा अहिले सामान्य तथा शल्यक्रियामार्फत दैनिक ३० देखि ४० जना सुत्केरी हुने गरेका छन्। यस्तो अवस्थामा एनआईसीयू सेवा विस्तारले मातृ तथा शिशु स्वास्थ्य सेवामा महत्वपूर्ण सहयोग पुग्ने अस्पतालको विश्वास छ।

थप एनआईसीयू सञ्चालनका लागि आवश्यक चिकित्सक तथा स्टाफ नर्सको व्यवस्थापनसमेत तयारी अवस्थामा रहेको डा. दर्नालले बताए।

अस्पताल प्रशासनले विगतमा विभिन्न कारणले बन्द रहेका सेवालाई पुनः पूर्ण रूपमा सञ्चालन गर्ने र नयाँ सेवा थप्दै अस्पताललाई क्षेत्रीयस्तरको सुविधासम्पन्न स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने लक्ष्यसहित योजनाबद्ध रूपमा काम अघि बढाएको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button