३ असार २०८३, बुधबार

अस्ट्रेलियामा एयूकेयूएसविरुद्ध प्रश्न उठ्दै, सार्वभौमिकता र खर्चबारे चिन्ता

अस्ट्रेलियामा अमेरिका, बेलायत र अस्ट्रेलियाबीचको त्रिपक्षीय सुरक्षा साझेदारी एयूकेयूएसबारे गम्भीर प्रश्न उठ्न थालेका छन्। मेलबर्नमा बिहीबार आयोजित एयूकेयूएस सार्वजनिक सुनुवाइको पहिलो कार्यक्रममा सहभागीहरूले यो सम्झौता अत्यधिक खर्चिलो, अपारदर्शी र अस्ट्रेलियाको दीर्घकालीन सुरक्षा हितविपरीत रहेको भन्दै आपत्ति जनाएका छन्।

सन् २०२१ सेप्टेम्बरमा घोषणा गरिएको एयूकेयूएस सम्झौताअन्तर्गत अस्ट्रेलियाले आणविक ऊर्जाबाट चल्ने पनडुब्बी प्राप्त गर्ने योजना अघि सारेको छ। तर, आलोचकहरूले यसले अस्ट्रेलियाको स्वतन्त्र रक्षा नीति, आणविकमुक्त धारणा र राष्ट्रिय सार्वभौमिकतामाथि प्रश्न खडा गरेको बताएका छन्।

यसै महिनाको सुरुआतमा लेबर पार्टीका पूर्वनेता तथा विभिन्न सार्वजनिक व्यक्तित्वहरूको पहलमा एयूकेयूएसबारे स्वतन्त्र छानबिन सुरु गरिएको थियो। छानबिन सुरु भएको ७२ घण्टाभित्रै एक सयभन्दा बढी लिखित सुझाव प्राप्त भएको बताइएको छ।

सुनुवाइमा बोल्दै अस्ट्रेलियाका पूर्वविदेशमन्त्री ग्यारेथ इभान्सले एयूकेयूएसलाई अस्ट्रेलियाली सरकारले गरेका सबैभन्दा खराब रक्षा तथा विदेश नीति निर्णयमध्ये एक भएको टिप्पणी गरे। उनका अनुसार एयूकेयूएसबाट प्राप्त हुने भनिएको सुरक्षा लाभ मुख्यतः प्रशान्त क्षेत्रमा अमेरिकी सैन्य क्षमतालाई बलियो बनाउने उद्देश्यसँग जोडिएको छ।

इभान्सले अस्ट्रेलियाले प्राप्त गर्ने भनिएका पनडुब्बीहरू अमेरिकी सैन्य कमान्डसँग प्रभावकारी रूपमा जोडिने पूरक साधनका रूपमा प्रयोग हुने जोखिम रहेको बताए। उनले अस्ट्रेलिया–अमेरिका गठबन्धनमा अस्ट्रेलिया सधैँ कनिष्ठ साझेदारको भूमिकामा रहने यथार्थलाई बेवास्ता गर्न नहुने धारणा राखे।

सन् १९७४ देखि १९७६ सम्म चीनका लागि अस्ट्रेलियाका उपराजदूत रहेका जोन ल्यान्डरले चीन कहिल्यै पनि अस्ट्रेलियाका लागि खतरा नरहेको बताए। उनले ‘चीन खतरा’ भन्ने भाष्य केही मुलुकहरूको प्रचारबाट निर्माण गरिएको दाबी गर्दै कुनै पनि मुलुकबीचको पारस्परिक लाभकारी सम्बन्ध नै वास्तविक सुरक्षाको आधार हुने उल्लेख गरे।

ला ट्रोब विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक जोसेफ क्यामिलरीले एयूकेयूएस गलत कारण, गलत तरिका र दीर्घकालीन रूपमा गम्भीर परिणाम ल्याउने गरी गरिएको निर्णय भएको बताए। उनका अनुसार यस्तो महत्त्वपूर्ण निर्णय गर्दा अस्ट्रेलियामा बसोबास गर्ने चिनियाँ मूलका दस लाखभन्दा बढी नागरिकसँग समेत पर्याप्त परामर्श गरिएको थिएन।

क्यामिलरीले अस्ट्रेलियालाई साझा सुरक्षा, सहकार्यमा आधारित सुरक्षा र व्यापक सुरक्षाको सिद्धान्तमा आधारित नयाँ सुरक्षा ढाँचा आवश्यक रहेको बताए। उनले सुरक्षा केवल सैन्य विषय मात्र नभई आर्थिक, वातावरणीय र सामाजिक चुनौतीसँग पनि जोडिएको उल्लेख गरे।

एयूकेयूएस सम्झौताअनुसार अस्ट्रेलियाले आठवटा आणविक ऊर्जाबाट चल्ने पनडुब्बीका लागि ३६८ अर्ब अस्ट्रेलियन डलर खर्च गर्नेछ। यो रकम तीन दशकसम्म प्रतिदिन ३ करोड अस्ट्रेलियन डलरभन्दा बढी खर्च हुने बराबर हो।

अस्ट्रेलियन इन्स्टिच्युटका अर्थशास्त्री रोड क्याम्पबेलले एयूकेयूएसमा ठूलो स्रोत केन्द्रित हुँदा स्वास्थ्य, शिक्षा, सार्वजनिक सेवा र नागरिक कल्याणका क्षेत्रमा प्रत्यक्ष अवसर लागत पर्ने चेतावनी दिए। वातावरणविद् डेभ स्विनीले आणविक फोहोर व्यवस्थापनबारे चिन्ता व्यक्त गरे भने मेलबर्नकी बासिन्दा बार्बरा ज्याक्सनले एयूकेयूएसका कारण अस्ट्रेलियाको राष्ट्रिय सार्वभौमिकता क्रमशः कमजोर हुँदै जाने आशंका व्यक्त गरिन्।

एयूकेयूएस सार्वजनिक छानबिन समितिको तालिकाअनुसार अब अस्ट्रेलियाका थप पाँच सहरमा सुनुवाइ आयोजना गरिनेछ। अन्तिम प्रतिवेदन अक्टोबर ३० भित्र सार्वजनिक गर्ने तयारी गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button