हर्मुज जलडमरूमध्यमा इरानी ड्रोन खसालिएको अमेरिकी दाबी

अमेरिकी सेनाले हर्मुज जलडमरूमध्य हुँदै आवतजावत गरिरहेका व्यावसायिक जहाजलाई लक्षित गरी आएका इरानी ड्रोनहरू खसालिएको दाबी गरेको छ।
अमेरिकी सेनाको सेन्ट्रल कमान्ड ९सेन्टकम० ले शुक्रबार राति सामाजिक सञ्जाल एक्समार्फत इरानले हर्मुज जलडमरूमध्य पार गरिरहेका व्यावसायिक जहाजमाथि आक्रमण गर्ने प्रयासस्वरूप एकतर्फी आक्रमणमा प्रयोग हुने धेरै ड्रोन प्रक्षेपण गरेको जनाएको हो।
सेन्टकमका अनुसार ती ड्रोनहरू समुद्री मार्गमा रहेका व्यावसायिक जहाजका लागि खतरा देखिएपछि अमेरिकी सेनाले अवरोध गरी खसालेको हो। घटनामा कुनै जहाजमा क्षति पुगेको वा मानवीय हताहती भएकोबारे तत्काल जानकारी सार्वजनिक गरिएको छैन।
हर्मुज जलडमरूमध्य विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय समुद्री व्यापारका दृष्टिले अत्यन्त संवेदनशील मार्ग मानिन्छ। त्यस क्षेत्रमा पछिल्लो समय देखिएको तनावका कारण जहाजरानी सुरक्षा, तेल आपूर्ति र क्षेत्रीय स्थायित्वबारे अन्तर्राष्ट्रिय चासो बढेको छ।
अमेरिकी पक्षले घटनालाई व्यावसायिक समुद्री यातायातको सुरक्षासँग जोडेको छ। इरानी पक्षबाट भने यसबारे तत्काल विस्तृत प्रतिक्रिया सार्वजनिक भएको छैन।





