सीएक्सएमटीलाई शाङ्घाई स्टार बजारमा आईपीओ अनुमति

चीनको शीर्ष धितोपत्र नियामक निकायले मुलुकको सबैभन्दा ठूलो डायनामिक र्यान्डम–एक्सेस मेमोरी (डीआरएएम) उत्पादक कम्पनी सीएक्सएमटी कर्पोरेसनलाई प्रारम्भिक सार्वजनिक निष्कासन ९आईपीओ० दर्ताका लागि स्वीकृति दिएको छ।
चाइना सेक्युरिटिज रेगुलेटरी कमिसनले शुक्रबार जारी गरेको वक्तव्यअनुसार सीएक्सएमटीलाई शाङ्घाई स्टक एक्सचेन्जको विज्ञान तथा प्रविधि नवप्रवर्तन बोर्ड, जसलाई स्टार बजार पनि भनिन्छ, मा सूचीकृत हुन अनुमति दिइएको हो।
कम्पनीको विवरणपत्रअनुसार सन् २०१६ मा स्थापना भएको सीएक्सएमटी चीनको सबैभन्दा ठूलो र प्रविधिगत रूपमा अग्रणी डीआरएएम उत्पादनमा केन्द्रित उद्यम हो। कम्पनीले डीआरएएम उत्पादनको अनुसन्धान, विकास, डिजाइन र निर्माणमा काम गर्दै आएको छ।
सीएक्सएमटीले आईपीओमार्फत २९ अर्ब ५० करोड युआन अर्थात् करिब ४ अर्ब ३३ करोड अमेरिकी डलर उठाउने योजना बनाएको छ। यो रकम सफल भएमा स्टार बजारको इतिहासमै दोस्रो ठूलो आईपीओ र यस वर्ष चीनको ए–सेयर बजारको सबैभन्दा ठूलो आईपीओ बन्नेछ।
सन् २०१९ जुनमा सुरु गरिएको स्टार बजार उच्च प्रविधि तथा रणनीतिक उदाउँदो क्षेत्रका कम्पनीहरूलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको हो। यस बजारले सूचीकरण मापदण्डलाई केही लचिलो बनाए पनि सूचनाको पारदर्शिता र खुलासासम्बन्धी व्यवस्था भने कडा राखेको छ।
सीएक्सएमटीको आईपीओ स्वीकृतिलाई चीनको सेमिकन्डक्टर र मेमोरी चिप उद्योगको विकासका लागि महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। यसले देशभित्रै उच्च प्रविधि उत्पादन क्षमता विस्तार गर्ने र रणनीतिक प्रविधि क्षेत्रमा लगानी प्रवाह बढाउने अपेक्षा गरिएको छ।





