रुस दिवसमा पुटिनद्वारा राष्ट्रिय पुरस्कार प्रदान

रुस दिवसका अवसरमा राष्ट्रपति भ्लादिमिर पुटिनले श्रम नायक स्वर्ण पदक तथा सन् २०२५ का रूसी संघीय राष्ट्रिय पुरस्कार प्रदान गरेका छन्।
जुन १२, २०२६ मा मस्कोस्थित ग्रान्ड क्रेमलिन प्यालेसको सेन्ट जर्ज हलमा आयोजित विशेष समारोहमा विज्ञान तथा प्रविधि, साहित्य तथा कला, मानव अधिकार र परोपकारी कार्यमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको हो।


समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले रुस दिवस मातृभूमिप्रतिको प्रेम, सम्मान र गौरवका साथ मनाइने राष्ट्रिय पर्व भएको बताए। उनले रूसी इतिहासका महत्वपूर्ण चरणहरू, उद्योग, सैन्य सेवा, संस्कृति र राज्य निर्माणमा विभिन्न पुस्ताले पुर्याएको योगदानलाई स्मरण गर्दै रुसको हजार वर्षभन्दा लामो राज्य विकास यात्रालाई एउटै ऐतिहासिक निरन्तरताका रूपमा बुझ्नुपर्ने उल्लेख गरे।
पुटिनका अनुसार रुसप्रतिको गहिरो व्यक्तिगत भावना रूसी जनताको मानसिकता र राष्ट्रिय चेतनाको अभिन्न हिस्सा हो। उनले एकता, देशभक्ति र जिम्मेवारीबोध रूसी समाजका महत्वपूर्ण मूल्य भएको बताउँदै ती मूल्यहरूले कठिनाइ सामना गर्न, शत्रुमाथि विजय हासिल गर्न, देश निर्माण गर्न र ऐतिहासिक–सांस्कृतिक सम्पदा जोगाउन सहयोग गरेको बताए।



उनले विशेष सैन्य कारबाहीमा सहभागीहरूका लागि मातृभूमिप्रतिको जिम्मेवारी आध्यात्मिक आधार भएको उल्लेख गर्दै उनीहरूलाई सम्पूर्ण रूसी समाजको समर्थन रहेको बताए।
उच्च सम्मान प्राप्त गर्ने नागरिकहरूको साहस, दृढता, कर्मप्रतिको निष्ठा र व्यावसायिक समर्पणको प्रशंसा गर्दै पुटिनले उनीहरू असाधारण, बलिया र उदार व्यक्तित्व भएको बताए। उनले आफ्नो काम र पेशालाई जीवनकै अर्थ बनाउने व्यक्तिहरूले मात्र यस्ता उचाइ हासिल गर्न सक्ने धारणा व्यक्त गरे।
समारोहको अन्त्यमा पुटिनले युवापुस्ताबारे विशेष जोड दिए। उनले समाज र राज्यको मुख्य दायित्व युवाहरूलाई आफ्नो रुचि, क्षमता र जीवनको लक्ष्य पहिचान गर्न सहयोग गर्नु रहेको बताए। उनका अनुसार प्रत्येक युवाले आफूलाई मनपर्ने क्षेत्रमा काम गर्ने अवसर पाए उल्लेखनीय सफलता हासिल गर्न सक्छ।
पुटिनले पुरस्कार प्राप्त व्यक्तिहरूका अनुभवलाई प्रेरणाका रूपमा प्रस्तुत गर्दै सबै नागरिकसँग सपना हुनुपर्ने र त्यसलाई यथार्थमा बदल्ने संकल्प पनि हुनुपर्ने बताए।
रुस दिवसका अवसरमा आयोजित उक्त समारोहमा सरकारी अधिकारी, सार्वजनिक व्यक्तित्व, पुरस्कार विजेता र विशिष्ट अतिथिहरूको उपस्थिति थियो। समारोहले राष्ट्रिय योगदान, देशभक्ति, सामाजिक जिम्मेवारी र भावी पुस्ताको प्रेरणालाई जोड दिएको थियो।





