संवादबाट कांग्रेस एकता बलियो बनाउन निधिको आग्रह

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्र देखिएका मतभेद, असन्तुष्टि र गुनासालाई संवाद तथा सहमतिका माध्यमबाट समाधान गर्दै संगठनात्मक एकता कायम राख्नुपर्नेमा जोड दिएका छन्।
जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा आयोजित ‘नेपाली कांग्रेस एकता, पार्टी सुदृढीकरण तथा देशको समसामयिक राजनीतिक विषयमा छलफलका लागि मधेस प्रदेशस्तरीय कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै निधिले लोकतान्त्रिक पार्टीमा फरक विचार र दृष्टिकोण हुनु स्वाभाविक भए पनि त्यसलाई विभाजन वा टकरावको आधार बनाउन नहुने बताए।
उनले पार्टीभित्र उठेका असन्तुष्टि, संगठन सञ्चालनसम्बन्धी प्रश्न र नेतृत्वप्रतिको गुनासालाई खुला छलफलबाट समाधान गर्नुपर्ने धारणा राखे। कांग्रेसको मुख्य शक्ति लोकतान्त्रिक संस्कार, कार्यकर्ताको समर्पण र संगठनात्मक एकतामा रहेको उल्लेख गर्दै उनले पार्टीलाई अझ सशक्त, प्रभावकारी र जनमुखी बनाउन सबै पक्ष साझा उद्देश्यका साथ अघि बढ्नुपर्ने बताए।
निधिले वर्तमान राजनीतिक परिस्थितिमा लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको पनि उल्लेख गरे। संविधान, लोकतन्त्र, संघीयता, समावेशिता र सामाजिक न्यायका पक्षमा कांग्रेसले आफ्नो भूमिका अझ प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो। पार्टीभित्र आन्तरिक एकता बलियो भए मात्र कांग्रेसले जनताको अपेक्षाअनुसार काम गर्न सक्ने उनले बताए।
भेलाका संयोजक तथा राष्ट्रियसभा सदस्य आनन्दप्रसाद ढुङ्गानाले पार्टीभित्र देखिएका विभिन्न धारणा र असन्तुष्टिलाई लोकतान्त्रिक प्रक्रियाबाट व्यवस्थापन गर्नुपर्ने बताए। उनले कांग्रेस संगठनलाई तल्लो तहसम्म सुदृढ बनाउने, कार्यकर्ताको भावना नेतृत्वसमक्ष पुर्याउने र समसामयिक राजनीतिक विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यले भेला आयोजना गरिएको जानकारी दिए।
ढुङ्गानाले कांग्रेसभित्र उठेका प्रश्नहरूलाई निषेध वा बेवास्ता गरेर होइन, खुला बहस र छलफलमार्फत समाधान खोज्नुपर्ने बताए। फरक मतलाई सम्मानपूर्वक व्यवस्थापन गर्न सके संगठन अझ बलियो बन्ने उनको भनाइ थियो।
नेता उमाकान्त चौधरीले कांग्रेसको आन्तरिक लोकतन्त्रलाई व्यवहारमा उतार्न नेतृत्व र कार्यकर्ताबीचको सम्बन्ध मजबुत हुनुपर्ने बताए। उनले पार्टीको निर्णय प्रक्रिया पारदर्शी, सहभागितामूलक र कार्यकर्तामैत्री हुनुपर्नेमा जोड दिए।
नेता मोहनबहादुर बस्नेतले कांग्रेसलाई जनविश्वासको केन्द्रका रूपमा कायम राख्न संगठनात्मक सुधार, नेतृत्वको उत्तरदायित्व, कार्यकर्ता परिचालन र जनतासँगको सम्बन्धलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए।
नेता गुरुप्रसाद बरालले कांग्रेसभित्र उठेका आवाज र बहसलाई पार्टीको लोकतान्त्रिक जीवनको अभिन्न अङ्गका रूपमा लिनुपर्ने बताए। फरक विचार राख्नेहरूलाई विरोधीका रूपमा नभई पार्टीलाई थप बलियो बनाउन योगदान गर्ने पक्षका रूपमा हेर्नुपर्ने उनको धारणा थियो।
नेपाली कांग्रेस महोत्तरीका सभापति नागेश्वर यादवले मधेस प्रदेशका कार्यकर्ताको भावना, संगठन विस्तार, जनसम्पर्क अभिवृद्धि र पार्टी सुदृढीकरणका विषयमा धारणा राखे। उनले संगठनलाई सक्रिय र प्रभावकारी बनाउन कार्यकर्ताको भूमिका निर्णायक हुने बताए।
भेलाको अध्यक्षता गरेका नेपाली कांग्रेस बारा जिल्ला सभापति राजेश राय यादवले पार्टीभित्र एकता कायम राख्दै संगठनलाई बलियो बनाउने दिशामा सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए। उनले संवाद, सहकार्य र लोकतान्त्रिक संस्कारलाई संरक्षण गर्दै अघि बढ्नु कांग्रेसको आवश्यकता रहेको उल्लेख गरे।





