३० जेष्ठ २०८३, शनिबार

सुरुङमार्ग अध्ययन र निर्माणका लागि ६७ करोड बजेट

पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा विभिन्न सुरुङमार्गको सम्भाव्यता अध्ययन तथा निर्माणका लागि ६७ करोड एक लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

मन्त्रालयले हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको वार्षिक विकास कार्यक्रममा सुरुङमार्गसम्बन्धी योजना समावेश गरिएको हो। कार्यक्रमअन्तर्गत निर्माणाधीन सिद्धबाबा सुरुङमार्गका लागि मात्रै ५० करोड रुपैयाँ बजेट छुट्याइएको छ।

त्यस्तै, ग्वार्को–सातदोबाटो–एकान्तकुना फ्लाइओभरका लागि १२ करोड ६६ लाख रुपैयाँ विनियोजन गरिएको वार्षिक विकास कार्यक्रममा उल्लेख छ। सुरुङमार्ग विकास कार्यक्रमका लागि तीन करोड ७७ लाख ८० हजार रुपैयाँ छुट्याइएको छ।

मन्त्रालयले टोखा–छहरे–गुर्जु भन्ज्याङ सुरुङमार्गका लागि ११ लाख ४८ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ। विभिन्न प्रस्तावित सुरुङमार्गहरूको सम्भाव्यता अध्ययनका लागि एक लाख ९० हजार रुपैयाँ छुट्याइएको छ।

सुर्खेतको भेरी नदीदेखि बर्दियाको दानुवा तालसम्म सुरुङमार्ग अध्ययनका लागि पाँच लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ। दोलालघाट–चर्नावती सुरुङमार्गका लागि १८ लाख ९० हजार रुपैयाँ छुट्याइएको छ।

त्यसैगरी, हात्तीसार–बबई सुरुङमार्गका लागि सात लाख ५६ हजार रुपैयाँ, खुर्कोट–चियाबारी सुरुङमार्ग अध्ययनका लागि तीन लाख ९२ हजार रुपैयाँ, शिवपुर–भालुवाङ सुरुङमार्गका लागि तीन लाख ९२ हजार रुपैयाँ र रानीघाट–भुरीगाउँ सुरुङमार्गका लागि पनि तीन लाख ९२ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।

मन्त्रालयले सुरुङमार्ग र फ्लाइओभरजस्ता पूर्वाधार योजनालाई आगामी आर्थिक वर्षको विकास कार्यक्रममार्फत निरन्तरता दिएको जनाएको छ। यी योजनाहरूको सम्भाव्यता अध्ययन, प्राविधिक तयारी र निर्माण कार्य अघि बढाउने लक्ष्य राखिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button