३० जेष्ठ २०८३, शनिबार

सुस्तामा एसएसबी हस्तक्षेपविरुद्ध माइतीघरमा प्रदर्शन

नेकपा माओवादीले नवलपरासीस्थित सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबीको हस्तक्षेप भएको भन्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

शनिबार आयोजित प्रदर्शनमा सहभागी नेता तथा कार्यकर्ताले राष्ट्रिय स्वाधीनता, सीमा सम्मान र जनअधिकारको रक्षा गर्नुपर्ने मागसहित नाराबाजी गरेका थिए। उनीहरूले “सीमा हाम्रो हो, सत्ता हाम्रो हो, निर्णय हाम्रो हो” लगायतका नारा लगाउँदै सीमावर्ती क्षेत्रमा नेपाली भूमि र नागरिकको सुरक्षाप्रति सरकार गम्भीर हुनुपर्ने बताएका छन्।

प्रदर्शनकारीहरूले सुस्ता क्षेत्रमा भारतीय एसएसबीबाट नेपाली भूमि र नागरिकमाथि हस्तक्षेप भइरहेको आरोप लगाउँदै त्यसलाई तत्काल रोक्न सरकारसँग माग गरेका छन्। उनीहरूले राष्ट्रिय सीमा र भूभागको संरक्षण राज्यको प्रमुख दायित्व भएको भन्दै सीमावर्ती नागरिकको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।

माओवादीका नेता तथा कार्यकर्ताले सुस्तालगायत सीमा क्षेत्रमा देखिएका समस्या कूटनीतिक र प्रशासनिक पहलबाट समाधान गर्नुपर्ने बताएका छन्। उनीहरूले नेपाली भूमिमाथिको अतिक्रमण अन्त्य, सीमावर्ती नागरिकको सुरक्षा र राष्ट्रिय स्वाधीनताको पक्षमा सरकार स्पष्ट रूपमा उभिनुपर्ने मागसमेत गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button