३० जेष्ठ २०८३, शनिबार

बेइजिङमा नेपाल–चीनका सगरमाथा आरोही सम्मानित

चीनको राजधानी बेइजिङमा नेपाल र चीनका सगरमाथा आरोहीहरू सम्मानित भएका छन्।

७३औँ सगरमाथा दिवसका अवसरमा नेपाली राजदूतावास बेइजिङले शुक्रबार साँझ आयोजना गरेको ‘नेपाल–चीन सगरमाथा एड्भेन्चर फेस्टिभल’मा आरोही तथा सङ्घीय सांसद मिङ्मा ग्याबु शेर्पासहित नेपाल र चीनका करिब ५० जना सगरमाथा आरोहीलाई सम्मान गरिएको हो।

नेपाली राजदूतावासका अनुसार कार्यक्रममा पूर्वउपसभामुख इन्दिरा राना मगर र चीनका लागि नेपालकी कार्यवाहक राजदूत रोशन खनालले २९ चिनियाँ र २४ नेपाली आरोहीलाई सम्मानपत्र प्रदान गरेका थिए।

नेपालको पर्वतीय पर्यटन प्रवर्द्धन, सगरमाथाको अन्तर्राष्ट्रिय महत्व उजागर तथा नेपाली र चिनियाँ पर्वतारोहण एवं पर्यटन व्यवसायीबीच सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको दूतावासले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत खनालले सगरमाथा नेपालको पहिचान, साहसिक पर्यटनको प्रतीक र विश्व पर्वतारोहण समुदायको आकर्षणको केन्द्र भएको बताइन्। उनले यस्ता कार्यक्रमले नेपाल–चीनबीच जनस्तरको सम्बन्ध, पर्यटन सहकार्य र सांस्कृतिक निकटतालाई थप बलियो बनाउने विश्वास व्यक्त गरिन्।

प्रतिनिधिसभा सदस्य तथा सगरमाथा आरोही मिङ्मा ग्याबु शेर्पाले नेपाल–चीन पर्यटन सहकार्यलाई अझ विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए। नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष फुर गेल्जे शेर्पाले पर्वतीय पर्यटन प्रवर्द्धनका लागि दुवै देशबीच संयुक्त पहल आवश्यक रहेको बताए।

कार्यक्रममा नेपाली दूतावासका काउन्सलर विवेक रिजालले नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूबारे प्रस्तुति दिएका थिए। नेपालका कीर्तिमानी आरोही लाक्पा डेण्डी शेर्पा तथा चिनियाँ आरोही चाङ माओलिङ र लोरिकाशीले सगरमाथा आरोहणका अनुभव साझा गरेका थिए।

कार्यक्रमस्थलमा नेपालका पर्यटकीय गन्तव्यहरू झल्काउने तस्बिर प्रदर्शनीसमेत गरिएको थियो। कार्यक्रममा चीनको परराष्ट्र मन्त्रालयका प्रतिनिधि, अन्तर्राष्ट्रिय पर्वतीय पर्यटनसम्बद्ध संस्थाका प्रतिनिधि, विभिन्न मुलुकका कूटनीतिज्ञ, चिनियाँ पर्यटन व्यवसायी, नेपाली समुदायका सदस्य तथा पर्वतारोहण क्षेत्रका प्रतिनिधिसहित करिब २०० जनाको सहभागिता रहेको थियो।

नेपालबाट नेपाल पर्वतारोहण सङ्घ, आरोहण सञ्चालक सङ्घ, सगरमाथा आरोही सङ्घ, नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक सङ्घ तथा आरोहण र पदमार्गसम्बन्धी विभिन्न कम्पनीका प्रतिनिधिहरू कार्यक्रममा सहभागी थिए।

सोही अवसरमा नेपाल र चीनका पर्यटन व्यवसायीबीच सहकार्य विस्तार गर्ने उद्देश्यले व्यवसायी–व्यवसायी नेटवर्किङ कार्यक्रम पनि आयोजना गरिएको थियो।

दूतावासले यस्तो कार्यक्रमले नेपाललाई पर्वतीय पर्यटनको विश्वस्तरीय गन्तव्यका रूपमा चिनाउन र चिनियाँ पर्यटक तथा पर्वतारोहण समुदायसँग नेपालको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button