ललितपुरमा ३० हजार ट्रामाडोलसहित तीन पक्राउ

ललितपुरमा ठूलो परिमाणमा लागूऔषध ट्रामाडोल ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ गर्ने क्रममा प्रहरीले एक राउन्ड हवाई फायरसमेत गरेको जनाएको छ।
लागूऔषध नियन्त्रण ब्युरोका अनुसार शनिबार बाराको सिम्रौनगढबाट काठमाडौँतर्फ ट्रामाडोल ल्याइँदै गरेको विशेष सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो। सोही क्रममा बागमती प्रदेश ०१–०३० च ९२०१ नम्बरको रातो सुजुकी कार र बा ५२ प ४५६७ नम्बरको मोटरसाइकललाई ललितपुर महानगरपालिका–२३ गैरीगाउँ क्षेत्रमा रोक्न खोजिएको थियो।
प्रहरीले रोक्न संकेत गर्दा कार र मोटरसाइकलमा सवार व्यक्तिहरू भाग्न खोजेपछि नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गरिएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ। प्रहरीका अनुसार गोली कसैलाई लागेको छैन।
प्रहरीले नियन्त्रणमा लिएको कारको पछाडिको डिक्की जाँच गर्दा लुकाएर राखिएको अवस्थामा ३० हजार क्याप्सुल ट्रामाडोल बरामद भएको जनाएको छ। घटनास्थलबाट कार, मोटरसाइकल र पाँच थान मोबाइलसमेत बरामद गरिएको छ।
पक्राउ पर्नेहरूमा बाराको सिम्रौनगढ नगरपालिका–३ का ३५ वर्षीय जितेन्द्र पासवान तथा भारतको बिहार राज्य, सीतामढी जिल्लाका ३२ वर्षीय अहमद लड्न र ३३ वर्षीय मोहम्मद सद्दाम रहेका छन्।
लागूऔषध नियन्त्रण ब्युरोले पक्राउ परेकामाथि लागूऔषध ओसारपसारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ। पछिल्लो समय प्रतिबन्धित तथा दुरुपयोग हुने औषधिजन्य लागूऔषधको अवैध कारोबार नियन्त्रणका लागि प्रहरीले निगरानी कडा बनाएको छ।





