कोशीसहित पहाडी क्षेत्रमा वर्षा र चट्याङको सम्भावना

देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु र पूर्वीय वायुको आंशिक प्रभावका कारण आज विभिन्न प्रदेशमा बदली, वर्षा र चट्याङको सम्भावना देखिएको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहेको छ। मधेस प्रदेशमा आंशिक बदली छ भने सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ। बाँकी पहाडी भूभाग तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। अन्य तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।
कोशी प्रदेशका केही स्थान तथा देशका हिमाली र पहाडी भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा मधेस प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
रातिको समयमा कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। मधेस प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले मेघगर्जन, चट्याङ र वर्षाका कारण हुन सक्ने सम्भावित असरलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।





