भारतीय कडाइले इलामका चिया उद्योग बन्द हुने अवस्थामा

इलाम । नेपाली चिया भारत निर्यातमा देखिएको अवरोधका कारण इलामको सूर्योदय क्षेत्रका चिया उद्योग बन्द हुने अवस्थामा पुगेका छन्। भारतीय पक्षले आयात हुने नेपाली चियामा नयाँ प्रक्रिया लागू गरेपछि तयारी चिया बजारमा पुग्न नसकेको भन्दै उद्योगीहरूले उद्योग सञ्चालन रोक्ने घोषणा गरेका छन्।
सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले आगामी असार १ गतेदेखि उद्योग बन्द गर्ने जनाएको छ। एसोसिएसनमा आबद्ध ५३ उद्योगले निर्यात अवरोधका कारण भण्डारण क्षमता भरिएको र किसानबाट खरिद गरिएको हरियोपत्ती प्रशोधनपछि तयार भएको चिया बिक्री हुन नसकेको बताएका छन्।
एसोसिएसनका अनुसार भारत पुगेको तीन लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा रोकिएको छ। त्यस्तै, उद्योगमै सात लाख किलोभन्दा बढी तयारी चिया थन्किएको छ। भण्डारण स्थान अभाव भएपछि नयाँ उत्पादन प्रशोधन गर्न समस्या भएको उद्योगीहरूको भनाइ छ।
एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठले किसानबाट खरिद गरिएको हरियोपत्ती प्रशोधन गरिए पनि तयारी चिया बिक्री नहुँदा उद्योगहरू आर्थिक दबाबमा परेको बताए। उनका अनुसार किसानलाई भुक्तानी रोक्न नसकिने र चिया भण्डारण गर्ने ठाउँसमेत नभएपछि उद्योग बन्द गर्नुबाहेक अर्को विकल्प नरहेको अवस्था आएको छ।
भारतले सन् २०२६ मे १ देखि नेपालबाट आयात हुने चियामा ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ लागू गरेको छ। नयाँ व्यवस्थाअनुसार प्रत्येक गाडीमा रहेको चिया छुट्टाछुट्टै परीक्षण गर्नुपर्ने, परीक्षण प्रतिवेदन आउन लामो समय लाग्ने र प्रतिवेदन नआएसम्म बिक्री गर्न नपाइने व्यवस्था छ। परीक्षणमा असफल भए चिया नष्ट गर्नुपर्ने वा फिर्ता ल्याउनुपर्ने बाध्यता रहेको उद्योगीहरूले बताएका छन्।
उद्योगी गोपाल कट्टेलका अनुसार भारतीय पक्षले विभिन्न प्राविधिक प्रक्रिया थपेपछि नेपाली चिया बजारमा पुर्याउने बाटो अवरुद्धजस्तै भएको छ। उनले निर्यातमा देखिएको समस्या समाधानका लागि संघीय सरकारले तत्काल कूटनीतिक पहल गर्नुपर्ने बताए। अवरोध हटाउन नसकिए अर्बौं रुपैयाँ बराबरको नेपाली चिया बजार जोखिममा पर्न सक्ने उनको भनाइ छ।
चिया उद्योग बन्द हुँदा किसान प्रत्यक्ष प्रभावित हुने देखिएको छ। सूर्योदय नगरपालिकामा दुई हजार ९९५ चिया किसान रहेका छन्। नगर क्षेत्रमा ३३ हजार ६५५ रोपनीमा चियाखेती हुँदै आएको छ। यहाँबाट वार्षिक करिब दुई करोड किलो हरियोपत्ती उत्पादन हुने जनाइएको छ।
किसानहरूले उद्योग बन्द भए हरियोपत्ती बिक्री नहुने र आम्दानी रोकिने चिन्ता व्यक्त गरेका छन्। चियाखेतीमै निर्भर परिवारहरूका लागि उद्योग बन्द हुनु रोजीरोटीमै असर पर्ने विषय बनेको छ।
सूर्योदय नगरपालिकाले पनि नेपाली चियामाथि देखिएको भारतीय अवरोध हटाउन उच्चस्तरीय कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ। नगरपालिकाका अनुसार भारतको कोलकाता पुगेका नेपाली चियाका कन्साइनमेन्टमा भारतीय चिया बोर्डले आयातकर्ताको गोदाममै पुगेर प्रत्येक बोराबाट नमूना संकलन र परीक्षण गर्न थालेको छ। तर नमूना संकलन भएको एक साताभन्दा बढी भइसक्दा पनि प्रयोगशाला प्रतिवेदन नआएका कारण बिक्री–वितरण रोकिएको छ।
सूर्योदय नगरपालिकाका कार्यवाहक प्रमुख दुर्गाकुमार बरालले झन्झटिलो प्रक्रियाका कारण गुणस्तरीय नेपाली चिया भारतीय गोदाममै थन्किएर गुणस्तर घट्ने र बिग्रिने जोखिम बढेको बताए। उनले समस्या समाधानका लागि नेपाल सरकारले भारतसँग उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिए।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालबाट वार्षिक ७० लाख किलोभन्दा बढी अर्थोडक्स तयारी चिया निर्यात हुने गरेको छ। त्यसमध्ये ९० प्रतिशतभन्दा बढी भारतीय बजारमा जाने गरेको छ। नेपालबाट वार्षिक सवा चार अर्ब रुपैयाँभन्दा बढीको तयारी चिया निर्यात हुने गरेको छ।
नेपालमा अर्थोडक्स चिया मुख्य रूपमा इलाम, पाँचथर र धनकुटामा उत्पादन हुँदै आएको छ। भारतीय बजारमा देखिएको अवरोध लामो समय कायम रहे चिया उद्योग, किसान, मजदुर र निर्यात व्यापार सबै क्षेत्रमा गम्भीर असर पर्ने सरोकारवालाहरूले बताएका छन्।





