लामो अन्तरालपछि कोइराला निवास पुगे सशांक

विराटनगर । नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका छोरा डा. सशांक कोइराला लामो समयपछि विराटनगरस्थित ऐतिहासिक कोइराला निवास पुगेका छन्। कोशी प्रदेशस्तरीय बृहत् भेलामा सहभागी हुन विराटनगर आएका उनी शनिबार साँझ निवास पुगेका हुन्।
निवासमा पुग्दा कांग्रेस नेता डा. शेखर कोइराला माथिल्लो तलामा कार्यकर्ता भेटघाटमा व्यस्त थिए। त्यही क्रममा दाजु–भाइबीच पुरानो घर, परिवेश र बाल्यकालका सम्झनासँग जोडिएको आत्मीय संवाद भएको थियो।
निवास वरिपरि बनेका नयाँ घर र कंक्रिट संरचना देखेर डा. सशांकले दाजु शेखरसँग वरिपरि धेरै घर बनेको टिप्पणी गरेका थिए। जवाफमा डा. शेखरले आधुनिकताले पुरानो परिवेश छोप्दै गएको बताएका थिए। उनले विगतमा ती क्षेत्रहरू खुला र आफ्नै जस्तै लाग्ने गरेको स्मरण गर्दै अहिले भवनहरूले परिवेश बदलिएको बताए।
संवादका क्रममा डा. सशांकले बाल्यकालको सम्झना गर्दै आँप र लिची फले–नफलेकोबारे चासो राखेका थिए। त्यसको जवाफमा डा. शेखरले यस वर्ष आँप र लिची राम्रोसँग नफलेको बताएका थिए। दाजु–भाइबीचको सामान्य तर भावनात्मक संवादले कोइराला निवासको पारिवारिक र राजनीतिक स्मृतिलाई फेरि ताजा बनाएको थियो।
त्यस क्रममा डा. शेखरले सशांकसँग काठमाडौंको राजनीतिक अवस्था बारे पनि जिज्ञासा राखेका थिए। सशांकले अवस्था उस्तै रहेको संक्षिप्त प्रतिक्रिया दिएका थिए। नजिकै रहेका कांग्रेस नेता बलबहादुर केसीले पनि काठमाडौंको राजनीतिक माहोल पुरानै ढर्रामा रहेको टिप्पणी गरेका थिए।
डा. शेखर कोइरालासँग केसीले काठमाडौं फर्किने समयबारे जिज्ञासा राख्दा उनले अझै केही दिन विराटनगरमै बस्ने बताएका थिए। त्यही क्रममा आइतबार हुने कार्यक्रमबारे पनि छलफल भएको थियो। डा. सशांकले कार्यक्रमको समय र स्थानबारे सोध्दा डा. शेखरले बिहान ११ बजे मनाश्लु होटलमा कार्यक्रम हुने जानकारी दिएका थिए।
आइतबार विराटनगरमा कांग्रेसको कोशी प्रदेशस्तरीय बृहत् भेला आयोजना हुँदैछ। उक्त भेलालाई कांग्रेसभित्रको इतर समूहले राजनीतिक रूपमा महत्वपूर्ण शक्ति प्रदर्शनका रूपमा लिएको छ। भेलामा डा. शेखर कोइराला, डा. सशांक कोइरालासहित कांग्रेसका विभिन्न नेताहरू सहभागी हुने बताइएको छ।
विराटनगरस्थित कोइराला निवास नेपाली कांग्रेसको इतिहाससँग जोडिएको महत्वपूर्ण राजनीतिक थलो मानिन्छ। लामो समयपछि सशांक कोइरालाको त्यहाँको उपस्थितिले पारिवारिक भेटघाट मात्र होइन, कांग्रेसभित्रको आन्तरिक राजनीतिक समीकरणका दृष्टिले पनि चासो बढाएको छ।





