परराष्ट्रमन्त्री खनाल आज चीन जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने औपचारिक भ्रमणका लागि आज चीन प्रस्थान गर्दै छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खनाल बेइजिङ जान लागेका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नेछन्। वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने तथा दुई देशबीचको बहुआयामिक साझेदारीलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल हुने जनाइएको छ।
भ्रमणका क्रममा नेपाल–चीनबीच राजनीतिक, आर्थिक, विकास, पूर्वाधार, लगानी, व्यापार, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ। मन्त्रालयका अनुसार समसामयिक क्षेत्रीय विषय र साझा चासोका मुद्दामा समेत विचार आदानप्रदान हुनेछ।
मन्त्री खनालले चीनका अन्य उच्चस्तरीय सरकारी अधिकारीहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। ती भेटवार्तामा दुई देशबीचको परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने तथा विगतमा भएका समझदारी र सहकार्यलाई कार्यान्वयनमुखी बनाउने विषयमा छलफल हुने बताइएको छ।
भ्रमणकै क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा विदेशी लगानी प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुने इन्भेष्टमेन्ट कन्फरेन्समा सहभागिता जनाउनेछन्। सो अवसरमा उनले चिनियाँ व्यवसायी समुदायसँग अन्तरक्रिया गर्दै नेपालमा लगानीका सम्भावना, नीतिगत वातावरण र प्राथमिकताका क्षेत्रबारे जानकारी गराउने कार्यक्रम छ।
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध, विकास साझेदारी, पूर्वाधार सहकार्य र आर्थिक सम्पर्क विस्तारको विषयमा निरन्तर छलफल हुँदै आएको छ। मन्त्री खनालको यस भ्रमणलाई दुई देशबीचको उच्चस्तरीय संवादलाई निरन्तरता दिने अवसरका रूपमा हेरिएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनाल असार ३ गते स्वदेश फर्किने कार्यक्रम छ।





