३१ जेष्ठ २०८३, आईतवार

दामोदरकुण्ड जाने तीर्थयात्रीलाई निःशुल्क भोजन र आवास

मुस्ताङ । प्रसिद्ध धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीका लागि दुई महिनासम्म निःशुल्क भोजन र आवासको व्यवस्था गरिएको छ। समुद्री सतहदेखि चार हजार ९९० मिटर उचाइमा रहेको लोघेकर दामोदरकुण्ड क्षेत्र पुग्ने पदमार्गअन्तर्गत घिमेठाँटी र दामोदरकुण्ड धर्मशालामा तीर्थयात्रीका लागि यस्तो सुविधा मिलाइएको हो।

दामोदरकुण्ड मुक्तिनाथ विकास समितिको क्षेत्राधिकारभित्र पर्ने पवित्र तीर्थस्थल दामोदरकुण्ड जाने दर्शनार्थीलाई लक्षित गरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ नारच्याङस्थित पुण्यश्वर महादेव शिवालय उपसमितिले निःशुल्क भोजन तथा धर्मशालामा बसोबासको व्यवस्था गरेको हो।

दामोदरकुण्ड तीर्थयात्री भोजन व्यवस्थापक समिति संयोजक तथा विकास समितिका कोषाध्यक्ष मोहन पुर्जाका अनुसार उपसमितिले बर्सेनि बर्खायामको करिब दुई महिनासम्म तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था गर्दै आएको छ। यस वर्ष पनि दामोदरकुण्ड तीर्थका लागि अनुकूल समय सुरु भएसँगै जेठ २५ गतेदेखि साउनसम्म यात्रुहरूका लागि खाना र बसोबासको प्रबन्ध गरिएको उनले बताए।

पुर्जाका अनुसार म्याग्दीस्थित गलेश्वरधामबाट संकलन हुने मुक्तिदान र उपसमितिको आंशिक अक्षयकोषबाट खर्च हुने गरी तीर्थयात्रीलाई भोजनसहित आवश्यक व्यवस्था मिलाइएको छ। भोजन व्यवस्थापनका लागि चार जना कर्मचारी खटाइएको छ। तीमध्ये दुई जना दामोदरकुण्डमा र दुई जना घिमेठाँटीमा रहेका छन्।

निःशुल्क भोजन व्यवस्थापनका लागि बर्सेनि पाँच लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको व्यवस्थापक पुर्जाले जानकारी दिए। उनका अनुसार २०६४ सालदेखि नारच्याङस्थित गुप्तेश्वर महादेव उपसमितिले दामोदरकुण्ड तीर्थयात्रीका लागि यस्तो सेवा उपलब्ध गराउँदै आएको हो। कोभिड–१९ महामारीका कारण तीर्थयात्रा बन्द हुँदा भने दुई वर्ष सेवा रोकिएको थियो।

तीर्थयात्रीका लागि भोजन र आवासको व्यवस्था भएपछि यात्रुहरूलाई ठूलो राहत पुगेको लोघेकर दामोदरकुण्ड–४ की वडासदस्य कृष्णकुमारीले बताइन्। उच्च हिमाली क्षेत्रमा पुग्ने तीर्थयात्रीले खाना र बसोबासका सामग्री आफैँ बोकेर यात्रा गर्नुपर्ने कठिनाइ कम भएको उनको भनाइ छ।

नेपाल–चीन उत्तरी सीमाक्षेत्रनजिकै रहेको दामोदरकुण्ड हिन्दू धर्मावलम्बीहरूका लागि महत्वपूर्ण तीर्थस्थलका रूपमा मानिन्छ। तीर्थयात्रीको सुविधाका लागि लोघेकर दामोदरकुण्ड गाउँपालिकाले २०७८ सालमा पुरुष र महिलाका लागि अलग–अलग बस्न मिल्ने गरी धर्मशाला निर्माण गरेको थियो।

गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टका अनुसार दामोदरकुण्डको केही तल धर्मशालासहित बाथरुम र शौचालय निर्माण गरिएको छ। घिमेठाँटीमा पनि गाउँपालिकाले दुईवटा धर्मशाला बनाएको छ। दामोदरकुण्ड क्षेत्रका धर्मशालामा करिब १०० जनाभन्दा बढी अट्ने क्षमता छ भने घिमेठाँटीस्थित धर्मशालामा करिब ४० जना बस्न सक्ने व्यवस्था रहेको अध्यक्ष विष्टले बताए।

धार्मिक आस्था, कठिन भौगोलिक अवस्था र उच्च हिमाली यात्राका कारण दामोदरकुण्ड जाने तीर्थयात्रीका लागि भोजन तथा आवासको निःशुल्क व्यवस्थाले यात्रा थप सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button