सुर्खेत प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ।
वीरेन्द्रनगर नगरपालिका–१० पिपिराका २१ वर्षीय साबिर बक्सको आज बिहान उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिंह बोहराका अनुसार बक्स हिरासतमा अचेत अवस्थामा भेटिएपछि उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार बक्सलाई गत बुधबार चोरी मुद्दामा पक्राउ गरिएको थियो। हिरासतमा रहेका बेला उनी अचेत अवस्थामा भेटिएपछि तत्काल अस्पताल लगिएको प्रहरीको भनाइ छ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको र आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।





