टेम्पो भीरबाट खसालिएपछि वन कर्मचारीको आलोचना

कैलाली । कैलालीको गोदावरीमा वन कार्यालयका कर्मचारीले एक महिलाले पसलका रूपमा प्रयोग गर्दै आएको टेम्पो भीरबाट धकेलेर खसालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको व्यापक आलोचना भएको छ।
घटना शनिबार गोदावरी नगरपालिका–४, बासपानी नजिकै भीमदत्त राजमार्गको गाइमारे डाँडा क्षेत्रमा भएको हो। स्थानीय ४४ वर्षीया धनादेवी धामीले सडक छेउमा टेम्पोमा सामान राखेर चिया, अण्डा, चाउचाउ, पानीलगायतका सामग्री बिक्री गर्दै आएकी थिइन्।
डिभिजन वन कार्यालय धनगढीअन्तर्गतका कर्मचारीले वन क्षेत्र अतिक्रमण भएको भन्दै उक्त टेम्पो हटाउने क्रममा भीरबाट खसालेका हुन्। टेम्पो खसाल्नुअघि कर्मचारीहरूले त्यसमा राखिएका सामान भने बाहिर निकालेका थिए।
धामीले आफूले टेम्पो घर लैजाने र अबदेखि उक्त स्थानमा सामान बेच्न नआउने भन्दै अनुरोध गर्दा पनि कर्मचारीहरूले नसुनेको बताइन्। उनका अनुसार घटनास्थलमा वरिपरि रहेका मानिसहरूले भिडियो खिचे पनि टेम्पो भीरबाट खसाल्न नदिन कसैले पहल गरेन।
धामीका अनुसार एक वर्षअघि उनका छोराले टेम्पो किनिदिएका थिए। उनका तीन छोरा भारतको बैंग्लोरमा मजदुरीका लागि गएको र घरमा आफू, श्रीमान् तथा जेठी बुहारी मात्र रहेको उनले बताइन्। दैनिक सामान बिक्रीबाट हुने आम्दानीले घरखर्च चलाउँदै आएको उनको भनाइ छ।
धामीले उक्त टेम्पो यातायात सञ्चालनका लागि प्रयोग नगरेको बताएकी छन्। आफू र श्रीमान् दुवैलाई टेम्पो चलाउन नआउने भएकाले कहिले टेम्पो त्यहीँ छाडेर घर फर्किने र कहिले छिमेकीको सहयोगमा घर लैजाने गरेको उनको भनाइ छ।
यता, वन कार्यालयले भने वन क्षेत्र अतिक्रमण हटाउने अभियानअन्तर्गत टेम्पो हटाइएको जनाएको छ। सब–डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख कृष्ण बोहराले उक्त टेम्पो चालु अवस्थाको सवारी नभई कवाड भइसकेको संरचनाका रूपमा प्रयोग गरिएको दाबी गरे। उनले एक महिनाअघि पनि सो टेम्पो हटाइएको बताएका छन्।
सब–डिभिजन वन कार्यालय अत्तरियाका अनुसार वन क्षेत्र अतिक्रमण हटाउने अभियानअन्तर्गत हालसम्म ४७ वटा संरचना हटाइएको छ।
तर, टेम्पो भीरबाट खसालिएको दृश्य सार्वजनिक भएपछि वन कर्मचारीहरूको कार्यशैलीमाथि प्रश्न उठेको छ। कानुनी प्रक्रिया आवश्यक भए पनि सामग्री नियन्त्रणमा लिएर कारबाही अघि बढाउन सकिने अवस्थामा टेम्पो भीरबाट खसाल्नु उचित नभएको भन्दै सर्वसाधारणदेखि जनप्रतिनिधिसम्मले आलोचना गरेका छन्।





