रसुवा भन्सार प्रकरणमा गाडी आयातकर्तामाथि प्रश्न

काठमाडौं । बजेट घोषणाअघि चीनबाट विद्युतीय सवारीसाधन आयात गरिएको विषयमा छानबिन अघि बढेपछि केही गाडी आयातकर्ता कम्पनीको भूमिकामाथि प्रश्न उठेको छ।
जेठ १५ गते बजेट भाषणको समय पारेर चीनबाट ठूलो संख्यामा विद्युतीय गाडी नेपाल भित्र्याइएको आशंकामा सरकारी निकायहरूले अनुसन्धान थालेका थिए। सोही क्रममा रसुवागढी नाकाबाट आयात गरिएका केही गाडीको भन्सार प्रक्रिया र नेपाल प्रवेशको मितिबारे कैफियत देखिएको बताइएको छ।
भन्सार विभागका महानिर्देशक श्याम भण्डारीको नेतृत्वमा अर्थ मन्त्रालयका प्रतिनिधि तथा सुरक्षा निकायका अधिकारीहरू सम्मिलित टोलीले अनुसन्धान गरेको थियो। अनुसन्धान प्रतिवेदनमध्ये एउटा अर्थ मन्त्रालयमा बुझाइएको जनाइएको छ।
प्रतिवेदन सार्वजनिक हुनुअघि नै रसुवागढी भन्सार कार्यालयका नौ जना कर्मचारीलाई मन्त्रालय तानेर स्पष्टीकरण सोधिएको छ। रसुवा भन्सार कार्यालयका प्रमुख उपसचिव तुलसी भट्टराईसहितका कर्मचारीमाथि अनधिकृत रूपमा सवारीसाधन पास गराइएको विषयमा छानबिन अघि बढाइएको स्रोतलाई उद्धृत गर्दै समाचारहरूमा जनाइएको छ।
रसुवागढी नाकाबाट आयात गरिएका काइयी ब्राण्डका केही गाडीमा प्रारम्भिक कैफियत देखिएको दाबी गरिएको छ। ती गाडी उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठको लगानी रहेको कम्पनीसँग सम्बन्धित रहेको बताइएको छ। श्रेष्ठको लगानी रहेको लक्ष्मी इ मोबिलिटी र जिओ अटोमोबाइल्सले काइयी ब्राण्डका गाडी आयात गर्दै आएको जनाइएको छ।
स्रोतका अनुसार रसुवागढी नाकाबाट ल्याइएका काइयी ब्राण्डका केही गाडीको प्रज्ञापनपत्र जेठ १४ गते नै पास गरिएको भए पनि ती गाडी जेठ १६ गते मात्र नेपाल प्रवेश गरेको पाइएको छ। यही विषयलाई लिएर भन्सार प्रक्रिया, मिति र आयातकर्ताको नियतमाथि प्रश्न उठेको हो।
बजेटअघि राजस्व दरसम्बन्धी सूचना चुहिएको आशंकामा आठ सयभन्दा बढी विद्युतीय गाडी अनुसन्धानको दायरामा परेका थिए। तीमध्ये अधिकांश बिवाइडी ब्राण्डका गाडी रहेको बताइएको छ। सशस्त्र प्रहरी बलले मुस्ताङको कोरला नाकाबाट ल्याइएका ७७४ थान बिवाइडी गाडी पोखरा नजिकै नियन्त्रणमा लिएको थियो।
त्यसैगरी रसुवागढी नाकाबाट कागजी रूपमा बजेटअघि नै भित्रिएको देखाइएका केही गाडी गल्छी क्षेत्रमा नियन्त्रणमा लिइएको थियो। सोही नाकाबाट आयात भएका काइयी ब्राण्डका गाडीबारे पनि अनुसन्धान अघि बढेको जनाइएको छ।
अञ्जन श्रेष्ठ हुन्डाई, बिएमडब्लु र काइयी ब्राण्डका गाडी व्यवसायसँग सम्बन्धित रहेका छन्। बिएमडब्लु जर्मनीबाट, काइयी चीनबाट र हुन्डाईका अधिकांश गाडी भारतबाट आयात हुने गरेको बताइएको छ।
छानबिन प्रतिवेदनका आधारमा दोषी देखिए भन्सार कर्मचारी तथा सम्बन्धित आयातकर्तामाथि कानुनी कारबाही अघि बढ्न सक्ने सरकारी स्रोतहरूको भनाइ छ। यद्यपि यस विषयमा सम्बन्धित कम्पनी तथा व्यवसायी पक्षको औपचारिक प्रतिक्रिया सार्वजनिक भइसकेको छैन।





