४ असार २०८३, बिहीबार

राजसंस्था पुनःस्थापनाका लागि नयाँ पार्टी बनाउने प्रसाईंको घोषणा

काठमाडौं । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नेपालमा राजसंस्था पुनःस्थापना नभएसम्म देश र जनताले सुख, शान्ति र स्थायित्व प्राप्त गर्न नसक्ने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित प्रस्तावित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै प्रसाईंले राजसंस्था पुनःस्थापनाका लागि धवल शमशेर राणासँग मिलेर नयाँ राजनीतिक पार्टी खोल्ने निर्णय गरिएको जानकारी दिए।

प्रसाईंले आफूहरूको मुख्य उद्देश्य राजसंस्था पुनःस्थापना र सनातन हिन्दु अधिराज्य कायम गर्नु रहेको बताए। उनले नेपालको भूगोल, यहाँको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पहिचानलाई आधार बनाएर नयाँ राजनीतिक अभियान अघि बढाइने दाबी गरे।

कार्यक्रममा बोल्दै उनले किराँत, बौद्धसहितको वैदिक सनातन हिन्दु अधिराज्य र राजसंस्था स्थापना नगरी देशले स्थायी शान्ति र समृद्धि प्राप्त गर्न नसक्ने धारणा राखे।

उनले भने, “उद्देश्य हामी दुई जनाको एउटै छ– नेपालको भूगोल, भूगोलको गर्भमा रहेको किराँत, बौद्धसहितको वैदिक सनातन हिन्दु अधिराज्य र राजसंस्था स्थापना नगरी यो देश र नेपाली जनताले सुख र शान्ति पाउँदैनन्।”

प्रसाईंले प्रस्तावित राष्ट्रवादी पार्टीमार्फत राजसंस्था पुनःस्थापना, हिन्दु अधिराज्य र राष्ट्रिय पहिचानको मुद्दालाई संगठित रूपमा अघि बढाउने संकेत गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button