बस्नेतको आरोप : कांग्रेस कमजोर बनाउने मुख्य पात्र सभापति थापा

विराटनगर । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएको वर्तमान नेतृत्वले पार्टीलाई इतिहासकै कमजोर अवस्थामा पुर्याएको आरोप लगाएका छन्।
विराटनगरमा आयोजित कांग्रेस इतर पक्षको भेलालाई सम्बोधन गर्दै बस्नेतले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाएका हुन्। उनले पार्टीभित्रको आन्तरिक विवाद र क्रियाशील सदस्यता नवीकरणको विषयलाई लिएर नेतृत्वले पुराना तथा स्थापित नेताहरूलाई पाखा लगाउन खोजेको आरोप लगाए।
बस्नेतका अनुसार बीपी कोइरालाका पुत्र डा. शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिजस्ता प्रभावशाली नेताहरूको क्रियाशील सदस्यता नवीकरणमा अवरोध सिर्जना गरिएको छ। उनले दशकौँदेखि पार्टीमा योगदान दिएका वरिष्ठ नेताहरूको सदस्यता विवादमा पार्नु कांग्रेस कमजोर बनाउने योजनाको हिस्सा भएको दाबी गरे।
उनले भने, “बीपी पुत्रदेखि ६०–६५ वर्ष पार्टीमा लगानी गरेका सिनियर नेताहरूको सदस्यता रद्द हुने, तर नयाँका नाममा २४ सै घण्टा बिना कुनै डाटा मान्छे भर्ने काम भइरहेको छ। यो कांग्रेस सिध्याउने षड्यन्त्र हो।”
बस्नेतले वर्तमान नेतृत्वका कारण पार्टीमा एकता, विश्वास र संगठनात्मक सन्तुलन कमजोर भएको टिप्पणी गरे। उनले विभिन्न गतिविधिका कारण कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको आरोप लगाउँदै त्यसको मुख्य जिम्मेवारी सभापति गगन थापाले लिनुपर्ने बताए।
उनले भने, “कांग्रेसलाई इतिहासकै कमजोर बनाउने काम विभिन्न नाटकबाट भयो। त्यसको मुख्य पात्र वा खलनायक भन्नुस्, हाम्रा अहिलेका सभापति गगन थापाजी हुन्। अब उहाँबाट पार्टी मिल्छ भनेर के आश गर्ने?”
बस्नेतको अभिव्यक्तिले कांग्रेसभित्र क्रियाशील सदस्यता, नेतृत्वको कार्यशैली र आन्तरिक गुटगत असन्तुष्टि थप चर्किएको संकेत गरेको छ।





