सरकारको विकल्प दिन नयाँ पार्टी खोल्दैछौँ : राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका डा. धवल शमशेर राणाले वर्तमान सरकारको आयुलाई लिएर देशभर प्रश्न उठ्न थालेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित प्रस्तावित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै राणाले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले सय दिन नपुग्दै धेरै गल्ती गरिसकेको आरोप लगाए।
उनले वर्तमान सरकार असफल भए नेपाली जनताले नयाँ राजनीतिक विकल्प खोज्ने दाबी गरे। उनका अनुसार त्यो विकल्प कांग्रेस, एमाले, माओवादी वा राप्रपा नभई राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको मुद्दा बोक्ने नयाँ पार्टी हुनेछ।
राणाले नयाँ पार्टीले मुलुकमा राजासहितको प्रजातन्त्र स्थापना गर्ने र नेपाललाई हिन्दु राष्ट्र बनाउने लक्ष्य लिने बताए। उनले नयाँ पार्टीको नाम, झण्डा र औपचारिक कार्यक्रम भने मलमास परेका कारण केही समयपछि सार्वजनिक गरिने जानकारी दिए।
उनले भने, “यो बालेन सरकार पनि के होला, कसो होला भन्ने सय दिन नपुग्दै तमाम प्रश्नचिह्नहरू उठिसके। तमाम गल्तीहरू गरिसके। यो बालेन सरकार देशमा असफल भयो भने नेपाली जनताले एउटा विकल्प खोज्नेछन्। त्यो विकल्प एमाले, कांग्रेस, माओवादी र राप्रपा पनि होइन। त्यो विकल्प भनेको राजासहितको प्रजातन्त्र बोक्ने पार्टी, हिन्दु राष्ट्र ल्याउने पार्टी हुनेछ। त्यो विकल्प हाम्रो नयाँ बन्ने पार्टीले दिनेछ।”
राणाले नयाँ पार्टीले आगामी स्थानीय तह निर्वाचनमा भाग लिने घोषणा पनि गरे। कार्यक्रममा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलगायतका नेताहरू सहभागी थिए।
राणाको घोषणासँगै राजसंस्था पुनःस्थापना, हिन्दु राष्ट्र र वैकल्पिक राष्ट्रवादी राजनीतिक धार निर्माणको विषय पुनः राजनीतिक बहसमा आएको छ।





